![]()
काठमाडौं । यातायात व्यवस्था विभागले दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई कारवाही गर्ने भएको छ।
अनुगमन गरी कारवाहीको अभियान शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए। सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आफैँ अनुगमनमा निस्किएको उनले बताए। विभागको नेतृत्वमा बुधबार नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ।
नयाँ बसपार्कलगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन्। दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन्। असोज ९ गतेदेखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए।
मन लागे जति भाडा लिन काउन्टरले कहाँबाट कहाँ जाने स्थानको नाम समेत लेख्दैनन्। सार्वजनिक यातायातमा देखिएका यस्ता समस्या समाधानका लागि अनुगमनलाई तीव्रता दिन लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए।
दशैँ अघि नै असोज ७ गते समायोजन गरिएको भाडा सूची प्रकाशन गरेर वितरण गर्न लागिएको उनले जानकारी दिए। मुख्य–मुख्य चोकमा भाडा सूचीको बोर्ड राख्ने तयारी समेत भइरहेको विभागले जनाएको छ। विभागले तोकेको भन्दा एकमात्र बढी भाडा लिए पनि पाँच हजार रुपैयाँ जरिवाना गरिने जनाइएको छ।


