![]()
बीबीसी । बन्दुकधारीहरूले इरानको एहवाज शहरमा एउटा सैनिक परेडमा गोली चलाएका छन्। अधिकारीहरूका अनुसार कम्तीमा आठजना सैनिक मारिएका छन् भने २० जनाभन्दा बढी घाइते भएका छन्। घाइते हुनेमध्ये एक बालक पनि छन्।
परेडका लागि तयार पारिएको मञ्च नजिकको एउटा पार्कबाट बन्दुकधारीहरूले आक्रमण गरेको र कैयौँ मिनेटसम्म गोली चलेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। विवरणहरूमा जनाइए अनुसार आक्रमणकारीहरू सैनिक पोशाकमा थिए।
प्रहरीबाट दुईजना आक्रमणकारी मारिएका छन् भने दुई जनालाई पक्राउ गरिएको विवरणमा जनाइएको छ। तिनीहरूलाई ‘ताकिफिरी आतङ्कवादी’ भनिएको छ जुन शब्दावली इरानमा इस्लामिक स्टेटसहितका सुन्नी अतिवादी समूहहरूलाई प्रयोग गरिन्छ।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा मान्छेहरू भुइँमा लडिरहेरहेको र बच्चासहित अरू मानिसहरू लुक्नका लागि दौडिरहेको अस्तव्यस्त दृश्य देखिन्छ। इरान-इराक युद्ध शुरू भएको ३८ वर्ष पुगेको अवसरमा सेनाले परेड गरिरहेको थियो।
सरकारी सञ्चारमाध्यमका अनुसार इस्लामवादी लडाकुहरूले आक्रमण गरेको ठानिएको छ। तर अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। गत वर्ष सरकार विरोधी ठूला प्रदर्शन भएका शहरहरूमध्ये एहवाज पनि एक हो। खस्किँदो जीवनस्तरलाई लिएर ती शहरहरूमा प्रदर्शन गरिएको बताइन्छ।


