![]()
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मला पन्तको परिवारलाई प्रधानमन्त्री केपीशर्मा ओलीले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले निर्मलाकी आमा दुर्गादेवी, बाबु यज्ञराज पन्तसँगै सुदुरपश्चिमका नेता तथा अधिकारकर्मीहरुसँग भेट गर्नुभएको हो ।
प्रधानमन्त्रीसँगको भेटको शुरुवातमा निर्मलाकी आमा दुर्गादेवीले घटनाबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले उहाँहरुलाई सान्त्वना दिदै भन्नुभयो,–‘तपाईले जन्माउनुभयो, हुर्काउनुभयो तर उनी देश कै छोरी हुन, उनको तस्विर देख्दा मलाई पनि अत्यन्तै पिंडा हुन्छ, यो हामी सबैको साझा समस्या हो । दोषी पत्ता लगाउन सकिन्छ, तपाईहरु ढुक्क हुनुस् ।’
प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले गठन गरेको शुरुको टिमले धोका दिएका कारण पनि समय लम्बिएको बताउनुभयो । उहाँले घटनाको सत्यतथ्य बाहिर ल्याउन केही समय लाग्ने बताउनुभयो ।
उहाँले घटना अन्यत्र मोडिने गरि, छानविनमा समस्या पर्ने गरि, अपराधी पत्ता लगाउन मर्का पर्नेगरि केही गर्न नहुने बताउनुभयो ।
उहाँले कन्चनपुरको घटनाबारे आफुले सुरुवातको समयदेखि नै गम्भीर रुपमा लिएको बताउदै भन्नुभयो ,–‘घटनामा संलग्न जो सुकै होस्, धनको ठूलो, बलको ठूलो, ओहदाको ठूलो, दलको ठूलो, जोसुकै होस्, कोहीपनि होस्, पदको आढ लागेर अपराधी बच्न सक्दैन ।’
कुनै हिसाबले कोही अपराधी बलियो हुन नसक्ने बताउदै उहाँले अपराधीलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो । पहिलेको छानविन समितिले कामगर्न नसकेपछि अहिले शक्तिशाली छानविन गठन गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्मला पन्तको हत्यारालाई राज्यले गहिराइसम्म पुगेर पत्ता लगाउने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो,–‘ निर्मलाको हत्याबाट ठुलो क्षति भइसक्यो । अव थप नोक्सानी फेरि नहोस् । नोक्सानी भयो भने त हाम्रै हुन्छ । झडप आन्दोलनले फेरि नोक्सानी नहोस् मेरो आग्रह छ ।’उहाँले अपराधीलाई सरकारले लुकाउन खोज्यो वा कारबाही गर्न चाहेन भन्ने नबुझ्न आग्रह गर्नुभयो । ‘हामी कडा ढंगले लागिरहेका छौं । अब तपाइहरु ढुक्क भएर जानुस्, हामी त्यसको गहिराइमा गरेर अपराधी पत्ता लगाउँछौ’ प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा निर्मलाका बाबुआमासँगै प्रदेश ७ का नेता भीम रावल, विना मगर, लेखराज भट्ट, निरु पाल, दिलेन्द्रप्रसाद बडु, एनपी साउद, रमेश लेखक लगायत सहभागि थिए ।


