![]()
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याबारे सरकारको जवाफ माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । पन्तको बलात्कारपछि भएको हत्याको घटना दिनानुदिन नाटकीय रुपमा बढी जटिल र रहस्यमय बन्दै गएको तथा एकपछि अर्को अनुसन्धान टोली परिवर्तन भइरहेपनि अनुसन्धान वास्तविक अपराधीसम्म पुग्न नसकेको भन्दै कांग्रेसले त्यसबारे सरकारको जवाफ माग गरेको हो ।
विहिबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको बलात्कार पछि गरिएको हत्याको घटनाबारे सदनलाई जानकारी नगराएसम्म सदन चल्न नसक्ने बताए । उनले भने, ‘‘अनुसन्धान मार्फत वास्तविक दोषी पत्ता लगाउन तर्फभन्दा समग्र राज्य संयन्त्र नै वास्तविकता ढाकछोप गर्न केन्द्रीत रहेको देखिएको छ । यस घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिन थालेको आभाष जनताले गर्न थालेका छन् ।’’
पछिल्लो अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव विरेन्द्र केसीले अनुसन्धानको विश्वसनियतामा प्रश्न उठाउदै राजिनामा दिएको विषयमा पनि कांग्रेसले सरकारको जवाफ माग गरेको छ । उपसचिव केसीले निर्मलाको आत्मा र पीडीत परिवारले न्याय पाउने सम्भावना नदेखको तथा शक्तिशाली अपराधीहरुबाट आफ्नो ज्यान खतरामा रहेको हुँदा सरकार, मानवधिकार आयोग, राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्था र नागकिक समाजसँग जीवन रक्षाका लागि अपिल गर्दै छानविन टोलीको सदस्यबाट राजीनामा दिनुले गम्भीर स्थितिको श्रृजना गरेको भन्दै सांसद बडूले त्यसबारे सरकारको जवाफ माग गरे ।
कांग्रेसले संसद अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो । १० मिनेटपछि पुनः बसेको बैठकमा सभामख कृष्णबहादुर महराले शुक्रवारको बैठकमा गृहमन्त्रीले त्यसबारे जवाफ दिने बताएपछि संसद सुचारु भएको थियो ।


