Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अस्ट्रेलिया: लाखौँ डलर पर्ने सुन भएका विशाल चट्टान

Loading

बीबीसी । पश्चिमी अस्ट्रेलियामा लाखौँ डलर मूल्य पर्ने सुन भएका दुईवटा ठूला चट्टान भेटिएको खानी सञ्चालकहरूले बताएका छन्। क्यानेडेली खनिज कम्पनी आरएनसी मिनरल्सका अनुसार ९५ किलो तौल भएको ठूलो चट्टानमा २४ सय आउन्स (६८ किलो) सुन पाइएको छ।

सो कम्पनीले काल्गुर्लीस्थित एउटा खानीबाट गत हप्ता एक करोड १० लाख डलर मूल्य पर्ने सुन उत्खनन गरेको जनाएको छ। एक खानी इन्जिनियरले त्यसलाई ‘अतिदुर्लभ’ मानेका छन्।

कर्टिन विश्वविद्यालयको वेस्टर्न अस्ट्रेलिया स्कुल अफ माइन्सका निर्देशक प्राध्यापक स्याम स्पीरिङका अनुसार खानीमा काँचो सुनका डल्ला भेटिने भए पनि तिनमा सुनको मात्रा भने थौरै हुन्छ।

सो खनिज कम्पनीले ठूलो चट्टानको ४० लाख क्यानेडेली डलर मूल्याङ्कन गरेको छ। त्रिसट्ठी किलो तौल भएको अर्को चट्टानमा १६ सय औन्स ( ४५.३५ किलो) सुन भएको उसले जनाएको छ। त्यसको मूल्य २६ लाख क्यानेडेली डलर पर्छ।

अस्ट्रेलियाका खानीमा प्रतिटन चट्टानबाट प्राय: दुई ग्राम सुन मात्र निक्लिने गरेको प्राध्यापक स्पीरिङले बताए। आरएनसी मिनरल्सले भने आफूले ११ सयगुणा अर्थात् प्रतिटन २.२ सय ग्राम सुन निकालेको जनाएको छ। “कहिलेकाहीँ मात्र हामी त्यो मात्रामा परिणाम आएको देख्छौँ। यो एकदमै दुर्लभ र चाखलाग्दो उपलब्धि हो,” प्राध्यापक स्पीरिङले भने। उनका अनुसार सुनका कणहरू मानिसका आँखाले नदेखिने गरी सूक्ष्म हुन्छन्।

गत हप्ता सुन भेट्नुभन्दा अगाडिसम्म बिटा हन्ट नाम दिइएको सो खानीमा निकल धातुको उत्खननका लागि काम हुँदै थियो। गत जुनमा सुनको अंश भेटिएपछि सो कम्पनीले जमिनभन्दा पाँच सयमुनि रहेको सुवर्णरेखालाई लक्ष्य बनाएको थियो।

आरएनसी मिनरल्सका प्रमुख कार्यकारी अधिकारी मार्क सेल्बीले ती ठूला चट्टानहरूलाई सङ्ग्रहका लागि लिलाम गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.