Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । स्वीडनको आमचुनावमा दुईवटा राजनीतिक समूहले बराबरीजस्तै मत हासिल गरे पनि आप्रवासन विरोधी दक्षिणपन्थी स्वीडन डिमोक्र्याट्स् दलका नेताले अब आफ्नो दल राजनीतिमा हाबी हुने बताएका छन्।

सो दलका नेता जिमी एकेसनले आफ्नो दल अन्य दलहरूसँग मिलेर सरकार बनाउन तयार रहेको बताए। स्वीडन डिमोक्र्याट्स् (एसडी) ले यसपटको चुनावमा अघिल्लो चुनावभन्दा ५ प्रतिशत बढी अर्थात् १८ प्रतिशत मत हासिल गरेको छ। सत्तारुढ र विपक्षी राजनीतिक समूह पनि बहुमत हासिल गर्न विफल भएका छन्।

समानुपातिक

लगभग सबै मत गणना भइसक्दा सत्तारूढ मध्य-वामपन्थी गठबन्धन उसको मध्य-दक्षिणपन्थी प्रतिद्वन्द्वीभन्दा थोरै अगाडि देखिएको छ। दुवैले ४० प्रतिशतको हाराहारीमा मत पाएका छन्। राष्ट्रवादी एसडीले १८ प्रतिशत मत हासिल गरेको छ। यो चुनावी परिणामले अब सरकार गठनको लागि लामो राजनीतिक रस्साकस्सी शुरू हुने सङ्केत गरेको छ।

स्वीडनमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ। त्यसअनुसार हरेक राजनीतिक दललाई प्रत्येक निर्वाचन क्षेत्रमा निश्चित सिटको व्यवस्था गरिएको हुन्छ। त्यो दलहरूले पाउने मतको आधारमा निर्धारण गरिएको हुन्छ। सत्तारुढ र विपक्षी राजनीतिक समूहहरुले राष्ट्रवादी एसडीसँग गठजोडको सम्भावनालाई अस्वीकार गरेका छन्।

प्रभाव

तर एसडीका नेता जिमी एकेसनले आफ्नो दल राजनीतिक दलहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन्। उनले भनेका छन्, “अब संसद्‌मा हाम्रो दलको सिट संख्या बढ्नेछ र त्यसले आउने साता महिना र वर्षहरूमा स्वीडनमा प्रभाव जमाउने छ।”

निओ-नाजी र अन्य उग्र दक्षिणपन्थी समूहहरुसँग जोडिएको एसडीले सन् २०१० देखि आफ्नो राजनैतिक यात्रा थालेको थियो। तर सोसलिस्ट डिमोक्याट्स् र ग्रीन पार्टीको समर्थन प्राप्त सत्तारुढ गठबन्धनका नेता स्टेफेन लोफ्भेनले मतदाताहरू र स्वीडनको निर्वाचन प्रणालीलाई सम्मान गर्दै आफूले राजीनामा नदिने बताएका छन्।

विश्लेषकहरू भन्छन् अब आउने दिनमा स्वीडनमा नयाँ सरकार गठनबारे जटिल राजनैतिक वार्ताहरू हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.