![]()
दाङ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ८ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत दाङले आइतबार अनुसन्धानका लागि प्रकाण्डलाई ८ दिन थुनामा राख्न आदेश दिएको हो। प्रहरीले म्याद थपका लागि प्रकाण्डलाई अदालतमा उपस्थित गराएको थियो।
मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका बेला दाङको तुलसीपुरमा कांग्रेसको चुनावी सभा चलिरहेका बेला बम विष्फोट गराएको अभियोग उनीमाथि छ। बम विष्फोटमा परी म्यादी प्रहरीमा कार्यरत रहेका तुलसीपुर उपमहानगरपालिका–१२ का २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो।
बम विष्फोटबाट घाइते चौधरीको मंसिर १३ गते उपचारका क्रममा मृत्यु भएको थियो। तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम विष्फोट गराइएको थियो।
उक्त बम विष्फोटनको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डकै नेतृत्वमा गराइएको अभियोगमा उनलाई भोजपुरबाट प्रहरीको सहयोगमा दाङ जिल्ला अदालतमा हाजिर गराइएको हो।


