![]()
काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको उनीहरुले आरोप लगाए ।
सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको तथा अन्य केही घाइते भएको, जिल्लाभर पहिरोले सयौँ नागरिक विस्थापित भए पनि राहत, पुनःस्थापना र क्षतिपूर्तिको नपाएकोमा गुनासो गरे ।
सांसद सिंहबहादुर विश्वकर्माले वर्षाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका अन्तर्गत तादी खोलाको पुल बगाउँदा बिरामी बोकेको एम्बुलेन्स, विद्यार्थी तथा स्थानीय जनतालाई आवतजावतमा समस्या परिरहेको बताए ।
सांसद रमेशजङ्ग रायमाझीले तराई–मधेशका किसानले खेतीपातीको समयमा कृषि मल नपाउँदा ठूलो मर्कामा परिरहेको भन्दै मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । यही भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनमा चिकित्सक तथा पत्रकारको असन्तुष्टि रहेकाले उनीहरुको मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखे ।
सांसद बिन्दादेवी आले रानाले आउँदो भदौ १३ र १४ गते काठमाडौँमा हुने बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विम्स्टेक)को चौथो सम्मेलन राष्ट्रियसभा गृहमा नगरी सरकारले अन्यत्रै गर्न लागेको सूचना प्राप्त भएको भन्दै त्यसबाट सरकारको ठूलो आर्थिक नोक्सानी हुनेतर्फ सचेत गराइन ।
सांसद खेमराज नेपालीले गत साउन २९ गते मोरङ जिल्लाको लेटाङ नगरपालिकास्थित जाँते माविको पिउने पानीमा विषादी हाल्ने दोषीको अहिलेसम्म पहिचान हुन नसक्नु दुःखद् रहेको बताए । उनले सो घटनाका दोषीलाई तत्काल पत्ता लगाएर कारबाही गर्न पनि सरकारसँग माग राखे ।
सांसद नेपालीले यातायात व्यवसायीको एकाधिकार अन्त्य भएको भनिए तापनि जनताले महसुस गर्न नसकेको उल्लेख गरे । सांसद युटोल तामाङले गत वैशाख ३० गते मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीका पीडितले हालसम्म क्षतिपूर्ति नपाएको गुनासो गरे ।


