![]()
काठमाडौ,साउन ।
विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको छिटपुट असर परेको छ । काठमाडौ उपत्यकामा बन्दको त्यति प्रभाव नदेखिएपनि काठमाडौ बाहिर बन्दको प्रभाव परेको छ । बन्द आह्वानकर्ताहरुले मुलुकका विभिन्न स्थान र विशेष गरि काठमाडौ उपत्यकाको विभिन्न स्थानमा बम राखेका छन् । केहि स्थानमा भेटिएका बमलाई नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्फोज गरेको छ ।
यसैबीच, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले काठमाडौंको सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरेका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित बनेरहेका बेला प्रमुख पोखरेलले निर्धक्क भएर हिँडडुल गर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
प्रमुख पोखरेलले अज्ञात समूहले मानिसहरुको पातलो उपस्थिति रहेको र सुनसान एरिया छानेर शंकास्पद वस्तु राखेकाले त्रसित हुनुपर्ने अवस्था नरहेको बताए । पोखरेलका अनुसार, उपत्यकामा भेटिएका सबै स्थानका बम निष्क्रिय पारिएको छ । उनले भनेः‘ कतिपय स्थानमा प्लास्टिकको झोलामा खतरा लेखिएको वस्तु देखिएकोमा ती सबै डिस्पोज भइसकेको छ, त्रास देखाउने प्रयास मात्र देखिएको छ । डराउनु पर्ने स्थिति छैन ।’
उनले राजधानीको शान्ति, सुरक्षा मजबुत बनाइएको बताउँदै व्यापक प्रहरी परिचालित भएको पनि बताए । प्रहरीले शंकास्पद वस्तु राख्दै हिँड्ने विप्लव समूहका दुई जनालाई पक्रेको छ । प्रमुख एसएसपी पोखरेलले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।


