Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । टर्कीका न्याय र आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको टर्कीले कडा निन्दा गरेको छ। आतंकवादको अभियोगमा अमेरिकी एकजना पास्टरलाई अंकाराले थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

टर्कीको विदेशमन्त्रालयले उसकै शब्दमा वासिङ्टनको शत्रुतापूर्ण अडान भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ। अमेरिकामा भएका ती मन्त्रीहरूको सम्पत्ति अमेरिकाले रोक्का गरिदिएको छ भने अमेरिकी नागरिकका हिसाबले गर्न पाउने व्यापार व्यवसायमाथि पनि रोक लगाएको छ।

ट्रम्प प्रशासनले पास्टर एन्ड्रयू ब्रनसनलाई गरिएको व्यवहार अस्वीकार्य भएको पनि जनाएको छ। अमेरिकाको नर्थ क्यारोलाइनाका ती पास्टरलाई राजनीतिक समूहसँग सम्बन्धित भएको आरोपमा झण्डै दुई वर्षदेखि थुनामा राखिएको छ। ब्रनसनले आफूमाथिको आरोप अस्वीकार गरेका छन्।

टर्कीका राष्ट्रपति रिजेप तय्यिप एर्दोआनले उक्त मुद्दामा वासिङ्टनलाई इसाई धर्मको प्रचारक र यहुदी मानसिकताको भनी आरोप लगाएका छन्। ह्वाइट हाउसकी एक प्रवक्ता सेरा स्यान्डर्सले ती पास्टर अनुचित र अन्यायपूर्ण थुनाको पीडित भएको आफूहरूको विश्वास रहेको बताएकी छन्।

ब्रनसनलाई रिहा गर्न अमेरिकाले गरेको मागलाई अस्वीकार्य भन्दै टर्कीले त्यसबारे प्रतिवादपूर्ण प्रतिक्रिया जनाउने बताएको छ। टर्कीको विदेशमन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, “हामी अमेरिकी प्रशासनलाई यो गलत निर्णयबाट पछि हट्न आह्वान गर्छौं।”

“कुनै विलम्ब नगरी हामी यो आक्रामक व्यवहारको प्रतिक्रिया जनाउँछौं।”

पत्रकारहरूसँग बोल्दै यसअघि स्यान्डर्सले भनेकी थिइन्, “हामीले ब्रनसनले केही गलत गरे भन्ने कुनै प्रमाण देखेका छैन।” उनले टर्कीका दुवै मन्त्रीले अमेरिकी पास्टरलाई पक्राउ गर्न नेतृत्वदायी भूमिका खेलेको बताइन्। स्यान्डर्सले यसबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीका समकक्षी एर्दोआनसँग पटकपटक छलफल गरेको पनि बताइन्।

गत साता ट्रम्पले यदि टर्कीले ब्रनसनलाई तत्काल रिहा नगरे उसले प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.