![]()
एजेन्सी,साउन ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङले देशका सेनाहरुलाई राम्रो खान खुवाइनुपर्नेमा जोड दिँदै बुधबार सैन्य उद्योगको भ्रमण गरेका छन् । आधिकारिक संचार केसिएनएले बताए अनुसार उत्तर कोरियाली सेनाहरुको स्वास्थ्यमा गत वर्षको तुलनामा झन बढी समस्या देखा परेको छ । विशेषगरी पोषकयुक्त खानेकुराको कमीका कारण सेनाहरुको स्वास्थ्य बिग्रिदै गइरहेकाले किमले त्यसप्रति पनि विशेष चिन्ता व्यक्त गरेको रोयटर्सले जनाएको छ ।
बुधबारको भ्रमणमा किमले खाद्य सामग्री उत्पादन गर्दा स्वाद, स्वास्थ्य र पोषक तत्व सबै कुरामा उत्तिकै ध्यान दिँदै सैनिकहकरुलाई राम्रो खाना दिनुपर्ने बताएका हुन् । किमले उनका पिता किम जोङ इलको भनाइ याद दिलाउँदै सबै सैनिकहरुलाई माया र सद्भावपूर्ण रेखदेखको अनुभूति दिलाइरहनुपर्ने बताए ।
पछिल्लो समय किमले आफ्नो अधिकांश समय चीनसँगको सिमा नजिक रहेको औद्योगिक क्षेत्रहरुको निरीक्षणमा बिताइरहेको देखिएको छ । किमले आणविक मिसाइलबाट आफ्नो ध्यान हटाएसँगै उत्तर कोरियाको अर्थव्यवस्थामा विशेष रुची राखिरहेको पनि पाइएको छ ।
विश्व बैंकका अनुसार उत्तर कोरियाको जनसङ्ख्या २ करोड ५४ लाख रहेको छ । त्यसमध्ये १२ लाख भन्दा धेरै सैन्य गतिविधिमा सक्रिय रहेको दक्षिण कोरियाली रक्षा मन्त्रालयको भनाइ छ । यस्तामो खडेरीका कारण उत्पादनमा कमी र कडा प्रतिबन्धको चपेटामा परेको हुँदा मानिसहरुले पर्याप्त खाना र पोषक तत्व पाइरहेका छैनन् ।


