Breaking News.... EverestOnlineKhabar
October 3, 2026

अनिल र शक्तिको उत्कृष्ट प्रदर्शनमा इस्ट लन्डनमाथि नेपालको फराकिलो जित

Loading

काठमाडौ,साउन ।
युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा फराकिलो अन्तरको जित हात पारेको छ। बुधबार भएको खेलमा नेपालले इस्ट लन्डनलाई २ सय २३ रनले पराजित गरेको हो। ३ सय ३९ रनको लक्ष्य पछ्याएको लन्डन ३८।५ ओभरमा १ सय १५ रनमा अलआउट भयो। उसका लागि ड्यारेन आइरोनसाइडले ३८ रन, आकास राजीले नटआउट २७ रन र भाज पुरेवालले २२ रन बटुले।
बलिङमा नेपालका शक्ति गौचनले ४ विकेट लिए। शक्तिले ९.५ ‍ओभरमा ५ मेडन राख्दा २३ रन खर्चिए। करण केसी र पारस खड्काले २–२ विकेट हात पारे। सोमपाल कामी र ललित राजवंशीको नाममा १–१ विकेट रह्यो।  त्यसअघि ओपनर अनिल साहले शतक प्रहार गरेका थिए। अनिलले १ सय ३१ रन जोडेका थिए। १ सय १८ बल खेलेका उनले १९ चौका र ३ छक्का प्रहार गरे। यता मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर भने २ रनले शतक बनाउन चुके। शरदले ९८ रन जोड्न ८६ बल खेलेका थिए। उनले समान ६ चौका र छक्का प्रहार गरे। २ ब्याट्सम्यानको उत्कृष्ट ब्याटिङसँगै टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३ सय ३८ रन जोड्यो। ओपनिङमा आएका अर्का ब्याट्सम्यान सुवास खकुरेल ८ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ९ रन र कप्तान पारस खड्का ४ रनमै आउट भए। तर अनिल र शरदले चौथो विकेटका लागि २ सय १२ रनको विशाल साझेदारी गरे।
रोहित कुमार पौडेल ११ रनमा आउट भए भने सोमपाल कामीले २९ रनको योगदान दिए। शक्ति गौचनले नटआउट ९ रन र करण केसीले नटआउट १३ रन बटुले। बलिङमा इस्ट लन्डनमा अर्सनल खानले ३ विकेट लिए। नविव अइजासले २ र सागर जोशीले १ विकेट लिए।
आज नेपालले अन्तिम अभ्यास खेलमा स्ट लन्डन सार्कससँग टी–२० खेल खेल्दैछ । इंग्ल्यान्डको लर्ड्समा हुने टी–२० सिरिज र नेदरल्यान्ड्समा हुने एकदिवसीय सिरिज खेल्न नेपाली टिम युरोप भ्रमणमा छ। नेपालले आगामी साउन १३ गते नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed