![]()
खुशीका रङ्हरुले जब जीवन रंगिन बन्न खोज्छ
तब आँखाबाट
टिल्पिलाउदै तपतप आइदिन्छ आँशु
अनि लाग्छ तिमी मेरो पहिलो साथी
दुःखका कहाली लाग्दा पलहरुले
जब जीवन रंगहीन बन्न खोज्छ
तब आँखाबाट तपतप आइदिन्छ आँशु
अनि लाग्छ तिमी मेरो पहिलो साथी ।
जीवन रंगमञ्च नै त हो
कहिले बिहानीको घामको किरणले
ल्याएको ओठ्को हाँसो
मध्याह्नको हुरीले नै खोसी दिन्छ
तब
आँखाबाट टिल्पिलाउँदै तपतप आइदिन्छ आँशु
अनि लाग्छ तिमो मेरो पहिलो साथी ।
कहिले गोधुलिको साँझमा भक्कानिएको मुटु
एक्कासी खुशीका थुप्राहरुले पखालिदिन्छ
अनि आँखाबाट तपतप आइदिन्छ आँशु
अनि लाग्छ तिमी मेरो पहिलो साथी ।
बाल्यकालमा
जोशी सरको एउटा प्रश्नको उतर दिन नसक्दा
सिर्कानाले सुनिएको हात देखेर
पहिलो पल्ट महसुस गरे तिमिलाई
तब आँखाबाट टिल्पिलाउँदै तपतप आइदियो आँशु
अनि लाग्यो तिमि मेरो पहिलो साथी ।
जब आफ्नै आँगनिलाई पराइ बनाउदै
कर्म घरको आँगनीलाई आफ्नो बनाए
तब खुशी अनि दुःखका
एकै पटक आँखाबाट टिलपिलाउँदै आइदियो आँशु
अनि लाग्यो तिमी मेरो पहिलो साथी ।
जीवनकै पहिलो खुशी
जब छोरीको जन्म भयो
तब संसार जिते जस्तो भयो
तब आँखाबाट टिल्पिलाउदै आइदियो आँशु
अनि लाग्यो तिमि मेरो पहिलो साथी ।
जब शुन्यतामा एक्लै हराउँछु
अनि सम्झिन्छु जस्तोसुकै खुशी
या दुःखका पर्खाल आएपनि
आशाको दीप जीवनमा कहिले निभ्न दिन्न
त्यस पल पनि आँखाबाट
टिल्पिलाउँदै तपतप आइदिन्छ आँशु
अनि लाग्छ तिमी मेरो पहिलो साथी ।
म जन्मिदा कसैको खुशीको ज्योती बनेकि थे रे
एकदिन म आफै निभ्ने छु, सेलाउने छु, खरानी बन्ने छु
शुन्यतामा हराउने छु
तब पनि तिमी म संगै जाने छौ
शुन्यतामा हाराउने छौ
त्यसैले त तिमी मेरो पहिलो साथी ।
–कविता शर्मा


