![]()
बीबीसी । स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ। अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी (एनएबी) का अधिकारीहरूले हिरासतमा लिएका हुन्।
शरिफले कार चढेर जान अस्वीकार गरेका थिए। त्यसपछि उनलाई र उनकी छोरीलाई विमानमार्फत रावलपिण्डीस्थित अडियाला जेल पुर्याइएको थियो। सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइकन जेल पठाउन पाउने आदेश लिएका थिए।
लहोरमा शरीफका समर्थक र सुरक्षाकर्मीबीच झडप भएका विवरण प्राप्त भएका छन्।
मुख्य घटनाक्रम
- भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा जुलाइ ६ मा पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो।
- अदालतले सजाय सुनाउने बेला शरिफ आफ्नी श्रीमतीको उपचारको सिलसिलामा लण्डनमा थिए। शुक्रवार राति उनी स्वदेश फर्केका हुन्।
- शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाजले उनको स्वागतका लागि ठूलो संख्यामा विमानस्थल पुग्न अपील गरेको थियो। विमानस्थल पुगेका कैयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुँदैछ।


