![]()
बीबीसी । अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा रुसी गुप्तचर अधिकारीहरूविरुद्ध अभियोग लगाइएपछि अमेरिकी राष्ट्रपति कार्यालयले त्यसले राष्ट्रपति ट्रम्प र पुटिनबीच हुने शिखर बैठकलाई जोखिममा नपार्ने बताएको छ।
मस्कोले १२ जना रुसीविरूद्ध लगाइएका आरोपले आगामी साता हेलसिन्कीमा हुने शिखर बैठक रोक्ने उद्देश्य राखेको प्रतिक्रिया दिएको छ।तर राष्ट्रपति ट्रम्पकी एकजना प्रवक्ता सेराह सेन्डर्सले उक्त बैठक पूर्वनिर्धारित समयमै हुने बताएकी छन्। ती रुसीहरूलाई एउटा सफ्टवेयरको प्रयोग गरी डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समितिका अध्यक्षविरुद्ध गुप्तचरी गरेको र पार्टीका कम्प्युटरहरू ‘ह्याक’ गरेको आरोप लगाइएको छ।
सह-महान्यायाधिवक्ता रोड रोजन्स्टाइनले आरोपित व्यक्तिहरूले गलत इमेल र सफ्टवेयरहरूको प्रयोग गरेको बताए। उनले ‘ह्याकर’हरूले निर्वाचन गराउने निकायको वेभसाइट ‘ह्याक’ गरेर करिब ५ लाख मतदाताका विवरण पनि चोरी गरेको जनाएका छन्।
यदि रुसी सेनाले एउटा कुनै अमेरिकी राजनीतिक दलको मुख्यालयमा बम खसालिदिएको भए त्यसलाई युद्धको कदमका रूपमा हेरिन्थ्यो। अमेरिकी राष्ट्रपतीय चुनावी अभियानका अध्यक्षको घरमा क्षेप्यास्त्र हानिएको भए पनि त्यस्तै अर्थ लाग्थ्यो। तर त्यस्तो भएको छैन। अमेरिकी न्याय मन्त्रालयले रुसी सैनिक अधिकारीहरूले एउटा अमेरिकी राजनीतिक दल र उसका नेताहरूविरुद्ध साइबर हमला गरेको आरोप लगाएको छ। यसलाई पनि कम्तीमा त्यतिकै गम्भीर घटनाका रुपमा लिइनुपर्ने हुन्छ।
रोबर्ट मलर नेतृत्वको टोलीले गरेको जाँचपछि यस्तो निर्णय लिइएको हो। उक्त टोलीले रुसले गरेका आक्रमणहरूलाई खस्किएको साख र नीतिहरूमा आएका अवरोधसँग जोडेर हेर्नुपर्ने बताएको छ। सह-महान्यायाधिवक्ता रोड रोजन्स्टाइनले शुक्रवार गरिएका घोषणाको राष्ट्रपति पुटिन र ट्रम्पबीचको भेटवार्तासँग कुनै सम्बन्ध नरहेको बताए। तर त्यसले दुई नेताबीचको शिखर बैठकलाई छायामा पार्ने पक्का छ।
हालै राष्ट्रपति ट्रम्पले अमेरिकाका साझेदारहरूको चर्को आलोचना गरेका थिए। उनले अमेरिकाविरुद्ध साइबर नै सही तर एक किसिमको युद्ध जस्तै गतिविधिमा आफ्ना सेना संल्ग्न भएको आरोप खेपिरहेको देशका नेतासँग कस्ता कुरा गर्छन् त्यो विश्वले नजिकबाट नियाल्नेछ।


