![]()
बीबीसी । पाकिस्तानको दक्षिणपश्चिमी बलोचिस्तान प्रान्तमा आयोजित एक निर्वाचन र्यालीमा भएको बम आक्रमणमा कम्तीमा १२८ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका छन्। एक स्थानीय राजनीतिज्ञको जुलुसलाई एक आत्मघाती बम आक्रमणकारीले निशाना बनाएका थिए। भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका देशका भूतपूर्व प्रधानमन्त्री नवाज शरिफ स्वदेश फर्केका दिनमा सो घटना भएको हो। त्यसअघि उत्तरी नगर बन्नुमा भएको बम विस्फोटनमा चारजनाले ज्यान गुमाएका थिए।
दुई दिनअघि पनि पेशावरमा आयोजित राजनीतिक भेलामा भएको आत्मघाती बम हमलामा २० जना मारिएका थिए। उक्त आक्रमण आफूले गराएको तालिबानले दाबी गरेको थियो। नवाज शरिफ लन्डनबाट अबुधाबी हुँदै शुक्रबार साँझ स्वदेश फर्केका छन्। शरिफको पार्टीले भनेको छ, उनी स्वदेश फर्कनुअघि उनका सयौँ समर्थकहरूलाई अधिकारीहरूले पक्रेर थुनामा राखेका छन्।
एउटा भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहर भएका शरिफलाई स्वदेश पुग्ने बित्तिकै पक्राउ गरिने अनुमान गरिएको थियो । पाकिस्तानमा आमनिर्वाचनको पूर्वसन्ध्यामा शरिफ र उनकी छोरीलाई उनीहरूको अनुपस्थितिमा गत हप्ता जेल सजाय सुनाइएको थियो।
उनको स्वागतका लागि लाहोर पुगेका एकजना समर्थकले भने, “म यहाँ उनलाई स्वागत गर्न आठ घन्टाको यात्रा गरेर आएको हुँ। हामी नवाज शरिफका लागि ज्यान दिन तयार छौँ। उनको सट्टा म १० वर्ष जेल बस्न तयार छु।”
उनको स्वदेश आगमनअघि पाकिस्तानमा हजारौँ प्रहरी परिचालन गरिएको छ। छोरी मरियम पनि शरिफसँगै यात्रामा छिन्।


