![]()
चितवन,असार ।
वर्षासँग झरेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
उक्त स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउन समेत समस्या भएको उनले बताए । उनले भनेः‘पानी केही कम हुनासाथ पहिरो हटाउन थाल्छौं, प्रहरी, उपकरण र आयोजनाका कामदारहरु सो स्थानमा पुगिसकेका छन्,पहिरो हटाएर सडक सञ्चालन गर्न ११–१२ बज्छ होला ।’
घुमाउनेको अलवा जलविरे, तोपेखोला लगायतका केही स्थानमा पनि साना–साना पहिरो खसेर सडकमा थुप्रिएको छ । त्यसलाई समेत हटाउने काम भैरहेको एसपी राठौरले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा रात्रि यात्रामा रहेका यात्रुहरु बीच बाटोमा नै रोकिएका छन् । जतिसक्दो छिटो सडक खुलाएर ति यात्रुहरुलाई पठाउने काम गर्ने एसपी राठौरको भनाइ छ ।
वर्षा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो गएर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुहरु १० घण्टासम्म जाममा बस्न बाध्य छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाले अहिले वैकल्पिक सडक प्रयोग गर्न भनेको छ ।


