![]()
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पूरानै अवस्थामा फर्काउने दावी गरेका छन् । सभापति देउवाले विगतका कमजोरीलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
सोमबार काठमाडौंमा पार्टीका पूराना नेता, कार्यकतासँगको सामूहिक भेटमा सभापति देउवाले अन्तरघातमुक्त बलियो पार्टी बनाउने घोषणा गरे । उनले जिल्ला पार्टी कमिटीहरुलाई विश्वासमा लिएर पार्टीलाई सुदृढ बनाउने अभियान नै सञ्चालन गर्ने योजना पनि अघि सारे । सभापति देउवाले चुनाव हार्नुको वास्तविकतालाई पार्टी भित्रैबाट ढाकछोप नगर्ने गरेको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई बचाउन पनि नेपाली काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले सभापति देउवाले पार्टीलाई बलियो बनाउने दिशामा कुनै कदम चाल्न नसकेको आरोप पनि लगाए ।
भेलामा महामन्त्री डा. सशांक कोइराला, बिजय गच्छदार, अर्जुननरसिंह केसी, पूर्व सभामुख तारानाथ रानाभाट, बिनयध्वज चन्द लगायतको पनि उपस्थिति थियो ।


