![]()
बीबीसी । युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषद्ले इयुसँगको भावी व्यापार सम्बन्धबारेको एउटा नयाँ प्रस्तावमा सहमति जनाएको दुई दिनपछि उनको राजीनामा आएको हो।
सो प्रस्तावलाई बहिर्गमन पक्षधरहरूले ‘धेरै नरम’ भनेका छन्। डेभिसका सहायक स्टिभ बेकरले पनि सरकार छाडेका छन्। डेभिसको राजीनामालाई प्रधानमन्त्री मेका लागि एउटा ठूलो धक्काको रुपमा लिइएको छ।
इयुसँग वार्ता गर्ने जिम्मेवारीसहित सन् २०१६ मा उनी मन्त्री नियुक्त भएका थिए। इयुबाट ब्रिटेन अलग हुनुपर्ने पक्षधर एक नेताले डेभिसको राजीनामालाई एउटा ‘सम्मानजनक र साहसिक निर्णय’ भन्दै प्रशंसा गरेका छन्।
डेभिसले सही काम गरेको टिप्पणी गर्दै कन्जरभेटिभ पार्टीका सांसद पिटर बोनले थपे, “बहिर्गमनबारे प्रधानमन्त्रीको नाम मात्रको प्रस्ताव स्वीकार्य छैन।”
लेबर पार्टीका प्रमुख इयान लेभरीले भने, “एकदमै भद्रगोलको अवस्था छ र टरिजा मेसँग अब कुनै सामर्थ्य बाँकी रहेन।”
मन्त्री डेभिसले ब्रेक्जिट वार्ताहरूमा प्रधानमन्त्री मेको अडानलाई लिएर धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए।


