![]()
जुम्ला । पाँच दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उनले अनशन बसेदेखि खाना बन्द गरेका छन्, स्लाइन लिन पनि मानेका छैनन् ।स्वास्थ्य नाजुक बनेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले अस्पतालको इमर्जेन्सी वार्डमा पुर्याएका छन् ।
डा. केसीको १५ औं अनशन विगतको भन्दा कष्टपूर्ण बनेको छ । उनले पाँच दिन दुर्गन्धित कभर्डहलमा कष्टपूर्ण रूपमा गुजारे । यसले उनको स्वास्थ्य खराब बन्यो । उनका सहयोगी किशोर केसीका अनुसार काठमाडौंमा ९–१० दिनसम्म खाली पेट अनशन बस्दासमेत खासै समस्या देखिँदैनथ्यो । ‘जुम्लामा भने चार–पाँच दिनमै जटिलता आयो,’ उनले भने, ‘यस्तो अवस्थामा समेत प्रशासनले उपचार गर्ने वातावरण बनाएको छैन ।’
अस्पतालमा पनि डा. केसीलाई सहज छैन । ‘हाम्रो अस्पतालमा आईसीयू छैन, त्यसैले जे–जस्तो सुविधा छ, सोहीअनुसार उपचार प्रयास गर्नेछौं,’ प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेको भनाइ छ । डा. केसी भने मूल माग पूरा नभई काठमाडौं नफर्किने अडानमा छन् ।


