Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बाढीपहिरोमा परी मुलुकभरी ११ जनाको मृत्युःठाउँठाउँमा सडक अवरुद्ध

Loading

काठमाडौ,असार ।
अविरल बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार ११ जनाको मृत्यु भएको छ। पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने ३ जना घाइते छन्। रोल्पामा तीन जनाको ज्यान गएको छ। घरमाथि कान्लाको पर्खाल भत्कँदा भान्छाकोठामा रहेका सुत्केरी आमाछोरी र एक किशोरीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयोलका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमबार बिहान पौने ११ बजेतिर घर भत्किँदा २२ वर्षीया आमा कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको हो।
आयुषा र चित्राको घटनास्थलमै मृत्यु भएको थियो भने १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। सुत्केरी आमा छोरी भान्सा घरमा आगो तापेर बसेको समयमा ढुङ्गाको गारा लगाइएको घर भत्किएको थियो। १५ वर्षीया छिमेकी किशोरी भने सुत्केरीलाई सघाउन पुगेकी थिइन्। पहिरोका कारण बाँकेमा २ जना तथा कैलाली, सिन्धुली, चितवन, पर्सा, महोत्तरी र काठमाडौंमा एक–एक जनाको ज्यान गएको हो। काठमाडौंमा धर्मस्थली खोलाले बगाएर एक जनाको मृत्यु भएको हो।
त्यस्तै बाँके र पर्सामा एक एक जना बेपत्ता भएका छन्।अविरल बर्षाका कारण विभिन्न स्थानमा सडकसमेत अवरुद्ध भएको छ। मुग्लिन–नारायणगढ सडक खण्ड बिहानैदेखि अवरुद्ध छ। चितवनको इच्छाकामना गाउँपालिकाको तोपेमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो।
त्यस्तै कालिकोटको शुभकालिकामा पहिरो जाँदा सुर्खेत जुम्ला सडक अवरुद्ध बनेको छ। त्यस्तै बाढीका कारण चितवनको रतौली खोलाको पुल भाँच्चिएको छ। नुवाटकोट ककनीमा पहिरोका कारण अवरुद्ध पासाङ ल्हामु राजमार्ग साँझबाट सुचारु भएको छ। त्यस्तै बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा सडक एकतर्फी सञ्चालनमा आएको छ। बाढीका कारण अवरुद्ध बर्दिया गुलरिया राजापुर सडक खण्ड पानीको सतह घटेपछि सञ्चालनमा आएको गृह मन्त्रलायको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अधिकृत प्रदीप राईले जानकारी दिए।
जल तथा मौसम पूर्वानुमान महाशाखाले २ दिनसम्म पानी परिरहने अनुमान गरेको छ।
नेपालमा आइतबारदेखि मनसुन सक्रिय हुँदा अविरल वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेकाले अझै २ दिन (बिहिबार) सम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् मञ्जु बासीले मनसुन सक्रिय हुँदा देशैभर वर्षा भइरहेको बताइन्। वर्षा देशैभर गराउन सक्ने बादल बनिरहेकोले केही दिन झरी लम्बिन सक्ने उनले जानकारी दिइन्। देशको पश्चिमी र मध्य क्षेत्रमा भारी वर्षा हुनसक्ने उनले बताइन्।
वर्षाले तराईका ठाउँ डुबानमा पर्न सक्ने र पहाडी भेगमा पहिरोको जोखिम बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.