![]()
रौतहट,असार ।
भारतबाट हतियार तस्करी गर्दै आएको एक समूहलाई पक्राउ गर्ने क्रममा रौतहटमा दोहोरो फायरिङ भएको छ। घटनामा एक हतियार कारोबारीको मृत्यु भएको छ। रौतहटको राजदेवी नगरपालिकामा पर्ने बाग्मती खोलाको किनारमा बिहिबार बेलुका करिब सवा १० बजे प्रहरी र हतियार कारोबारीबीच दोहोरो फायरिङ भएको हो। घटनामा गोली लागेका एक कारोबारीको उपचारको क्रममा गौरमा मृत्यु भएको संघीय प्रहरी इकाई वीरगञ्जका एसएसपी तारिणी प्रसाद लम्सालले जानकारी दिए ।
उनले भनेः‘त्यो बाटोबाट हतियार तस्करी हुन्छ भन्ने सूचनामा बिशेष टोली खटाएका थियौं, तीन जना व्यक्ति मोटरसाइकलमा आएको देखेपछि नियन्त्रणमा लिने प्रयास गर्दा उनीहरुले नै गोली चलाए, जवाफी फायरमा एक जनालाई प्रहरीको गोली लागेको हो।’ घटनास्थलबाट १२ राउन्ड गोलीसहितको एसएमजी बन्दुक भेटिएको लम्सालले जानकारी दिए ।
मृत्यु भएका व्यक्तिको सनाखत हुन सकेको छैन। उनी भारतीय भएको अनुमान गरिएको छ। घटनापछि केही समय घटनास्थल तनावग्रस्त भएको थियो। प्रहरीहरु सादा पोशाकमा गएकाले उनीहरु पनि अपराधी भएको आशंकामा स्थानीयले घेरेका थिए। पछि प्रहरीले मेयर र थप प्रहरीलाई बोलाएको थियो। गृह मन्त्रालयकै निर्देशनअनुसार हतियार कारोबारीविरुद्ध अप्रेसन तिब्र बनाइएको एसएसपी लम्सालले बताए।


