![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । बसन्तपुरको हनुमान ढोकास्थित गद्धी बैठक भवन पुनर्निर्माणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक अब आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको हो ।
उहाँले भवनको पुनर्निर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदूतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गर्नुभएको छ । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वका भएको उहाँले बताउनुभयो ।
२०७२ साल बैशाख १२ को भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार बिहीन भएको, सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुनर्निर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । संविधानसभाले संविधान जारी गरेर, नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।


