![]()
हेटौडा,असार ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले हेटौडा घोषणा पत्र जारी गरेको छ । हेटौंडा घोषणा पत्रमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको जिम्मेवारी सामूहिक रुपमा लिँदै एकतावद्ध भएर अगाडि बढ्ने, पार्टीलाई सुदृढीकरणका लागि देशव्यापी रुपमा जागरण अभियान सञ्चालन गर्ने, सरकारका जनविरोधी कदमको डटेर सामना गर्ने लगायतका विषयहरु समेटिएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभामा अप्रत्याशित पराजय बेहारेपछि आन्तरिक विवादमा फसेको कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाबाट विधान परिमार्जनका लागि समिति गठन गर्न भने असफल देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला अनिच्छुक देखिएका कारण कांग्रेस हेटौंडामा जारी राष्ट्रिय भेलाबाट विधान मस्यौदा परिमार्जन समिति गठन गर्न असफल भएको हो ।
भेलाले घोषणापत्रको ड्राफ्ट तयार गर्ने जिम्मेवारी सातवटै प्रदेशका ७ जना जिल्ला सभापतिहरुलाई दिएको थियो ।
भेलाले १ नम्बर प्रदेशबाट इलामका सभापति हिमालय कर्माचार्य, २ नम्बर प्रदेशबाट पर्साका सभापति अजय द्धवेदी,३ नम्बर प्रदेशबाट काभ्रेका सभापति मधु आचार्य, ४ नम्बर प्रदेशबाट स्याङ्जाका सभापति कमल पंगेनी, ५ नम्बर प्रदेशबाट रोल्पाका सभापति अमरसिंह पुन, ६ नम्बर प्रदेशबाट रुकुम (पश्चिम) का सभापति प्रेमप्रकाश ओली र ७ नम्बर प्रदेशबाट कञ्चनपुरका सभापति हरिप्रसाद बोहरालाई विधान सम्बन्धि ड्राफ्ट तयार गर्ने जिम्मेवारी दिएको थियो ।
ड्राफ्ट तयारीका लागि सात जना सभापतिहरुसँग समन्वय गर्न कांग्रेसले केन्द्रीय सदस्यद्वय रमेश लेखक र मिनेन्द्र रिजाल तथा प्रवक्ता विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिइएको थियो । छलफलमा केन्द्रीय कार्यसमितिले सहजीकरणका लागि खटाएका केन्द्रीय सदस्य रिजालले वरिष्ठ नेता पौडेल र सिटौलासँग छलफल गरेर मात्रै विधान मस्यौदा परिमार्जन समिति गठन गरिनुपर्ने आशय व्यक्त गरेका थिए । जिल्ला सभापतिहरुको भेलामा पार्टीको महासमिति बैठकको मिति पनि तय नहुने भएको छ ।


