![]()
हेटौडा,असार ।
निर्वाचनमा नराम्रो पराजय भोगेपछि आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला कार्यकर्ताले अपेक्षा गरेजति उपलब्धिपूर्ण हुन सकेन । तर, निर्वाचनमा निराश भएको कार्यकर्ताहरुलाई सभापतिहरुको भेलाले थोरै भएपनि आश भने जगाएको छ । असार ५ गतेदेखि सुरु भएको कांग्रेस जिल्ला सभापतिहरूको भेला हेटौंडा घोषणापत्र जारी गर्दै शुक्रबार सकिँदै छ ।
मंगलबारदेखि शुरु भेला बिहीबार नै सक्ने बताइए पनि जिल्लभा सभापतिहरु बोल्ने क्रम नसकिएकाले एक दिन लम्बिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणको संकल्पसहितको घोषणा पत्र जारी गर्दै भेला सकिने जानकारी दिए ।
उनका अनुसार, घोषणापत्रमा पार्टीभित्र अनुशासन कसरी कायम गर्ने, केन्द्र तथा स्थानीय तहमा प्रतिपक्षीका रुपमा कसरी प्रस्तुत हुने भन्ने लगायत विषय समेटिने छन् । भेलाले पार्टीलाई संघीय ढाँचामा लैजान र विधिपूर्वक विधान पारित गराउन सुझावसमेत दिएको शर्माको भनाइ छ ।
बिहीबारसम्म बोल्ने अधिकांश जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको कार्यशैलीले कांग्रेसको अस्तित्व नै खतरामा परेको भन्दै आलोचना गरेका थिए ।


