Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । युरोपेली संघले यही शुक्रबार अमेरिकी निर्यातविरुद्ध प्रतिकारात्मक ट्यारिफ लागू गर्ने युरोपेली संघका अधिकारीले बताएका छन्। स्टिल र आल्मुनियममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना ट्यारिफ लगाउने घोषणा गरेपछि युरोपेली संघको प्रतिकारात्मक ट्यारिफ आउन लागेको बताइएको छ।

युरोपेली संघको प्रतिकारात्मक ट्यारिफ ब्लू जिन्स, मोटरबाइक, बर्बन ह्विस्कीलगायतका अमेरिकी उत्पादनमा केन्द्रित हुने युरोपेली संघको व्यापार आयुक्त सिसिलिया माल्मस्ट्रोमले पुष्टि गरेको बीबीसीले जनाएको छ ।  अमेरिकी उत्पादनविरुद्ध प्रतिकारात्मक ट्यारिफ लगाउनु युरोपेली संघको बाध्यता भए पनि संघ यस्तो अवस्थामा रहन नचाहेको आयुक्त माल्मस्ट्रोमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकाविरुद्धको युरोपेली संघको प्रतिक्रिया समानुपातिक भएको र विश्व व्यापार संगठनको नियमबमोजिम भएको माल्मस्ट्रोमले जिकिर गरेकी छन् । दुई दशमलव आठ विलियन युरोबराबरको अमेरिकी सामान प्रभावित हुने गरी युरोपेली संघले गर्ने प्रतिकारात्मक निर्णय अमेरिकाले आफ्नो धातुविरुद्धको ट्यारिफ हटाए मात्रै हट्ने उनले बताइन् ।अमेरिकी राष्ट्रपतिको निर्णयका कारण युरोपेली संघले स्टिल र आल्मुनियममा निर्यातमा छ दशमलव चार विलियन ट्यारिफको सामना गरिरहनु परेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले स्टिल आयातमा २५ प्रतिशत र आल्मुनियम आयातमा १० प्रतिशत ट्यारिफ लगाउने प्रस्ताव गरेसँगै मार्च महिनामा ब्रसेल्सले पनि प्रतिकारात्मक ट्यारिफ लगाइने अमेरिकी सामानको सूची तयार पारेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको उक्त प्रस्तावले क्यानडा, मेक्सिको र अमेरिकाका अन्य गठबन्धन राष्ट्रलाई पनि निशानामा पारेको थियो । युरोपेली संघविरुद्ध ट्यारिफ लगाउने अमेरिकी सूचीमा क्र्यानबेरी, सुन्तलाको जुस, स्विटकर्न र बदामको बटर पनि रहेका छन् । युरोपेली संघको पछिल्लो घोषणा अमेरिका र उसका गठबन्धन राष्ट्रबीच बढ्दो व्यापार तनाबकै बेला बाहिरिएको छ । मंगलबार मात्रै पनि अमेरिकाले थप दुई सय विलियन डलरबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने चेतावनी दिएका थिए ।

यसअघि गत शुक्रबार उनले जुलाई ७ बाट लागू हुने गरी ५० विलियन डलरबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने घोषणा गरेका थिए ।उनले यदि चीनले अहिले जारी राखेको अभ्यास परिवर्तन गर्न अस्वीकार गरे १० प्रतिशत अतिरिक्त कर लागू गरिने चेतावनी पनि मंगलबार दिएका थिए । उता, अमेरिकी कदम ‘ब्ल्याकमेल’ भएको भन्दै त्यसविरुद्धमा डटेर लड्ने चीनले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.