Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

काठमाडौ,असार ।
राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गर्न सोमबार गोलाप्रथा गरिँदै छ। पहिलोपटक विभिन्न क्लस्टरका आधारमा छानिएका ५९ जना राष्ट्रियसभा सदस्यहरुको कार्यकाललाई २, ४ र ६ वर्षमा विभाजन गर्न सोमबार गोलाप्रथा विधि प्रयोग गर्न लागिएको हो।
संविधानको धारा ८६ (३) मा राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुने उल्लेख छ। साथै, यसरी पदावधि निर्धारण गर्दा गोलाप्रथाबाट गरिने उल्लेख छ। राष्ट्रियसभाको नियमावलीमा गोलाप्रथाबारे व्यवस्था गरिएपछि सोमबार गोलाप्रथा हुन लागेको हो। गोलाप्रथाबाट पहिलो १९ जनाको कार्यकाल २ वर्षको, २० जनाको ४ वर्षको र बाँकी २० जनाको ६ वर्षका लागि तय हुनेछ।
यसरी रिक्त हुने स्थानमा निर्वाचनबाट सदस्यहरू चयन हुनेछन्।यद्यपि राष्ट्रपतिबाट मनोनीत तीन सदस्यको हकमा छुट्टै गोलाप्रथा हुनेछ। गोलाप्रथाबाट राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, अर्थमन्त्री युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापाको कार्यकाल समेत तय हुनेछ। गोलाप्रथाबाट उनीहरुको पदावधि दुई वा चार वर्षे कायम भएमा हाल रहिरहेको पदमा रहन पुनःसदस्य निर्वाचित हुनुपर्नेछ।प्रतिस्पर्धामा को ?
राष्ट्रियसभा अध्यक्ष तिमल्सिना प्रदेश ४ बाट खुला समूहबाट निर्वाचित भएका थिए। उनीसँगै सुरेन्द्रराज पाण्डे र दीनानाथ शर्मा पनि सोही प्रक्रियाबाट राष्ट्रियसभा सदस्य भएका हुन्। नियमावली अनुसार यी तीन जनाबीच गोलाप्रथा हुनेछ र २, ४ र ६ वर्षको पदावधि निर्धारण हुनेछ। अर्थमन्त्री युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत ३ जनामध्येका एक हुन्। उनीसँगै अन्य दुई जनामा रामनारायण विडारी र विमला पौडेल छन्। राष्ट्रपतिले मनोनीत गरेका तीन जनाबीच छुट्टै गोलाप्रथा हुनेछ र २, ४ र ६ वर्षको पदावधि निर्धारण हुनेछ।
त्यस्तै, गृहमन्त्री रामबहादुर थापा पनि प्रदेश ३ बाट अन्य समूहमा रही निर्वाचित भएका हुन्। उनीसँगै राधेश्याम अधिकारी र बलरामप्रसाद बाँस्कोटा पनि निर्वाचित भएका थिए। यी तीनजना बीच बेग्लै गोलाप्रथा भएर २, ४ र ६ वर्षको पदावधि तय हुनेछ।
गोलाप्रथाका लागि संघीय संसद् सचिवालयले महासचिवको संयोजकत्वमा गोलाप्रथा सञ्चालन मूल समिति नै गठन गरेको छ। गोलाप्रथामा राष्ट्रियसभा सदस्य आफैं उपस्थित हुनुपर्नेछ। उपस्थित हुन नसके अख्तियारी प्राप्त व्यक्ति वा त्यसो पनि हुन नसके महासचिवले तोकेको व्यक्तिले अनुपस्थित सदस्यको तर्फबाट गोला तान्नेछन्।
गोलाप्रथालाई पूर्ण विश्वनीय बनाउन सचिवालयले कार्यविधि तय गरेको छ। कार्यविधि अनुसार पारदर्शी बट्टामा २ वर्ष, ४ वर्ष र ६ वर्ष लेखिएको गोला राखिनेछ। सबैभन्दा पहिला ७ वटै प्रदेशका महिला सांसदहरुले क्रमशः गोला तान्नेछन्। बट्टामा राखिएको गोला वर्णानुक्रम अनुसार सांसदहरुलाई बोलाएर टिपाउने व्यवस्था गरिएको पनि गोलाप्रथा सञ्चालन मूल समितिका सदस्य सचिव दशरथ धमलाले जानकारी दिए।
सांसदले टिपेको गोला संसद् सचिवालयका महासचिव वा उनले तोकेको प्रतिनिधिले खोलेर देखाउने व्यवस्था पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.