![]()
बीबीसी । भारतीय पत्रकार सुजात बुखारीको हत्यामा संलग्न संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ। श्रीनगरमा हत्या गरिएका पत्रकार बुखारीको हत्यामा संलग्न संदिग्धको तस्बिर जम्मु र कस्मिर प्रहरीले सार्वजनिक गरेको केही समयमै उनी पक्राउ परेका थिए।
सेतो कुर्ता लगाएको र दाह्री पालेको जुबाइर क्वायुमले बुखारीको हत्या भएलगत्तै कारमा रहेको उनको शरीरको चेकजाँच गरेको सार्वजनिक भएको तस्बिरमा देखिन्छ । कारमा रहेकोमध्ये एउटा शवलाई कसैले बाहिर निकालिरहेको बेला संदिग्ध क्वायुम पेस्तोल टिपेर त्यहाँबाट गइरहेको देखिन्छ । प्रहरीका अनुसार बुखारीको हत्यामा प्रयोग भएको बन्दुक पनि उनको साथबाट बरामद गरिएको छ।
पत्रकार बुखारीको हत्याको जाँचबुझ गर्न प्रहरीले विशेष अनुसन्धान टोली गठन गरेको छ। आफ्नो कार्यालयबाट इफ्तार पार्टीका लागि निस्कनेबित्तिकै ‘राइजिङ कस्मिर’ का प्रधान सम्पादक बुखारीको बिहीबार साँझ गोली हानी हत्या गरिएको थियो। उनको हत्यामा संलग्न संदिग्धहरु पाकिस्तान आधारित आतंकवादी समूह लस्कर–इ–तइबाका लागि काम गरिरहेको हुनसक्ने प्रहरीले शंका गरेको छ।
शुक्रबार साँझ प्रहरीले मोटरसाइकलमा आएका आक्रमणकारीको सुरक्षा फुटेज सार्वजनिक गरेको थियो। सार्वजनिक भएको फुटेजमा मोटरसाइकल चालक र आक्रमणमा संलग्न तेस्रो व्यक्तिको अनुहार हेल्मेट र मास्कले छोपिएको छ। मोटरसाइकलको बीचमा बसेका आक्रमणकारी भने हतियारको बोरा बोकेको जस्तै देखिएका छन्। क्यामेराबाट उनको अनुहारलाई मोटरसाइकलमा बसेका तेस्रो व्यक्तिले छोपेको प्रहरीले सार्वजनिक गरेको सुरक्षा फुटेजमा देखिएको छ।
हत्या प्रयास भएपछि १८ वर्षअघि ५२ वर्षीय बुखारीलाई प्रहरी सुरक्षा दिइएको थियो । भारत र पाकिस्तानबीचको ‘ट्रयाक–टु’ कूटनीतिका एक अंग दुई सन्तानका पिता बुखारी आतंकवादीको प्रमुख सूचीमा छन् भन्नेसमेत गरिन्थ्यो ।


