![]()
कैलाली । ५७ प्रतिशत वन क्षेत्र ओगटेको सात नम्बर प्रदेशमा पछिल्लो समय वन अतिक्रमण, तस्करी र चोरी पैठारी निकै बढेको छ। प्रदेश भित्रै पनि सबैभन्दा बढी वन क्षेत्र रहेको कैलालीमा अतिक्रमण तिब्र हुँदै गएको छ। झण्डै दुई लाख ५९ हजार हेक्टर वन क्षेत्र रहेको कैलालीमा ३० हजार हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमण भएको तथ्यांक सार्वजनिक भएको छ।
बाढी पीडित, भूमिहीन र सुकम्बासीका नाममा धमाधम वन अतिक्रमण भइरहेको छ। जथाभावी रुख काट्न थालिएपछि जैविक मार्ग पनि संकटमा पर्न थालेको छ। सामुदायिक वनमै अतिक्रमण बढेपछि कसरी र कसले नियन्त्रण गर्ने भन्ने चिन्ता थपिएको छ।
कैलालीमा पाँच सय २७ वटा सामुदायिक, ११ वटा धार्मिक र दुई वटा साझेदारी वन रहेका छन्। त्यसमध्ये सामुदायिक वन नै सबैभन्दा धेरै अतिक्रमणको चपेटामा परेको जिल्ला बन कार्यालयले जनाएको छ।
कैलालीमा केही बर्ष अघि सम्म विभिन्न राजनैतिक दलकै संलग्नतामा वन क्षेत्र अतिक्रमण गरि बस्ति बसाउने काम भएको हो। त्यसमाथि बिभिन्न गैरसरकारी संस्थाहरुले ति बस्तीमा सोलार, खानेपानी बिद्यालय जस्ता अरु सुबिधा थपिदिएपछि अहिले बस्ती हटाउनु तिनै राजनीतिक दलका लागि कडा चुनौती बनेको छ।


