![]()
काठमाडौं। नेपाल प्रहरीका तीन पूर्व अधिकारीहरुले सुन तस्करी र सनम शाक्य प्रकरणको तथ्यपरक रुपमा छानबिन हुन नसकेको बताएका छन्। गलत नियतले केही प्रहरीलाई मुद्दा चलाइएको उनीहरुले दाबी गरेका छन्।
पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी तथा पूर्वडिआईजी रमेश प्रसाद खरेलले यस्तो बताएका हुन्।
पूर्व डिआईजी खरेलले सुन तस्करी प्रकरणमा जेल परेका केही प्रहरीमाथि अन्याय भएको बताए। सो घटनाको निष्पक्ष रुपमा अनुसन्धान हुन नसक्दा यसले प्रहरी संगठनलाई नै कमजोर बनाउने उनले बताएका छन्। संगठित किसिमको अपराधको शैली बुझेको प्रहरी नेतृत्वले समेत यसमा केही नबोल्नु प्रहरी महानिरीक्षकहरुको नालायकीपन भएको खरेलको आरोप छ।
सो प्रकरणमा पक्राउ परेका दिवेस लोहनी लगायत केही प्रहरी अधिकारीहरु निर्दाेष भएको दाबी गरे। गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक(सहसचिव ईश्वरराज पौडेल)मा अनुसन्धानको अनुभव नै नभएको भन्दै उनले निष्पक्ष अनुसन्धान गर्न नसकेको खरेलको दाबी छ। अनुसन्धान गर्ने सहसचिव इमान्दार भएको हुनसक्ने तर अनुसन्धान प्रक्रियाबारे जानकारी नहुँदा राम्रा प्रहरी अधिकारीमाथि अन्याय भएको उनको भनाई छ।
लोहनी रामो अधिकृत भएकाले उनलाई फसाउन उनकै ब्याचका अन्य प्रहरीहरु समेत लागेको हुनसक्ने खरेलको आशंका थियो।
पूर्व एआईजी भण्डारीले अन्डरकभर अनुसन्धानमा पैसाको डिल लगायत विभिन्न तरिका अपनाउने र त्यसकै आधारमा उनीहरुलाई समेत प्रतिवादी बनाउनु गलत भएको बताए।
त्यस्तै पूर्व डिआईजी मल्लले अभियुक्तलाई पक्राउ गर्न पैसाको बार्गेनिङ गर्ने अनुसन्धान पद्धती भएको बताउँछन्।


