![]()
काठमाडौँ । सरकारले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि कार्यविधि स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्माण कार्यलाई तीब्र बनाउन बनाएको कार्यविधि स्वीकृत गरेको हो ।
७६ दशमवल २ किलोमिटर लम्बाई रहेको फास्ट ट्रयाकको निर्माण कार्य नेपाली सेनाले गरिरहेको छ । चार वर्षभित्र काम सक्नेगरि अघिल्लो वर्ष सेनालाई कामको जिम्मा दिइएको थियो । कार्यविधिमा द्रुतमार्गको अनुगमन, छिटो–छरितो कसरी बनाउने भन्ने लगायतका कुरा रहेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
आयोजनाको निर्माण लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ । द्रुतमार्ग २५ मिटर चौडाइको हुने जनाएको छ । दु्रतमार्ग निर्माणपछि तराई–मधेसबाट काठमाडौँ डेढ घण्टामा आइपुग्नका साथै काठमाडौँ उपत्यकामा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्रै पनि वार्षिक रुपमा करिब रु १० अर्ब बचत हुने जनाएको छ ।
द्रुतमार्गको निर्माण समयमै पूरा गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्व र प्रधानसेनापतिको अध्यक्षतामा बेग्लाबेग्लै निर्देशन तथा अनुगमन समिति गठन पनि गरिएको छ ।


