![]()
काठमाडौं । सरकारले हत्या अभियोगमा जेल चलान भएका बालकृष्ण ढुंगेललाई कैदा मिनाह गर्दै रिहा गरेपछि नेबिसंघ आन्दोलित भएको छ । सर्वोच्चको आदेशमा जेल परेका ढुंगेललाई गणतन्त्र दिवसको बाहनामा मुक्त गरेर सरकारले कानूनी शासनको उपहास गरेको भन्दै नेबिसंघ आन्दोलित भएको हो ।
ढुंगेलको रिहाइको बिरोधमा नेबिसंघले अध्यक्ष नैनसिंह महरको नेतृत्वमा काठमाडौं पुतलीसडमा बिरोध प्रदर्शन गरेको छ । बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महरले भने ‘मान्छे मार्नेलाई सरकारले छोड्दै जाने हो भने कानुनको औचित्य के ? ‘देशलाई अस्तव्यस्त बनाउने खालका कृयाकलाप कदापी स्वीकार्य हुँदैन।’
बिरोध प्रदर्शनमा उपाध्यक्ष पुष्प शाहीसहितका नेताहरु अर्धनग्न पोशाकमा उत्रिएका थिए । सरकारले बिधि र कानूनको खिल्ली उडाएर नाङ्गो रुपमा प्रस्तुत भएकाले आफूहरु पनि सांकेतिक बिरोधस्वरुप प्रस्तुत भएको उपाध्यक्ष शाहीले बताए ।
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई जन्मकैदको सजाय सुनाएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ढुंगेलसमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी हुन् ।
सर्वोच्च अदालतले ज्यान सम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका ढुंगेलको बाँकी कैद मिनाहा सम्बन्धी सरकारी निर्णयको सक्कल फाइल माग गरेको थियो । सोमबार न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेलको कैद मिनाहासम्बन्धी निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
ढुंगेलको मुद्दामा सर्वोच्चमा बहस चलिरहेकैबेला सरकारले ढुंगेललाई माफी दिएपछि राष्ट्रपति र प्रधानमन्त्रीमाथि समेत सर्वोच्चको अवहेलना गरेको आरोप लाग्न थालेको छ ।


