Breaking News.... EverestOnlineKhabar
June 28, 2026

कांग्रेसको कार्यक्रममा देउवा र प्रचण्ड ‘फेस टु फेस’ : अधिनायकवादमा नजाने प्रचण्डको प्रतिबद्धता, देउवाले भने- व्यवहार हेरौंला

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पहिलो पटक कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आमनेसामने भएका छन । स्थानीय तह निर्वाचनमा आपसी सहकार्य र सरकार पनि एकसाथ चलाएका दुवै नेताबीच पछिल्लो समय बिश्वास टुटेको थियो । कांग्रेससंगको सहकार्य तोडदै दाहालले एक्कासी एमालेसंग सहकार्य गरेपछि कांग्रेसले दाहाललाई ‘धोकेवाज’ को संज्ञा दिएको थियो ।

गणतन्त्र दिवसको दिन जेठ १५ गते भने कांग्रेसले आफैले धोकेबाज भनेका नेता दाहाललाई आफनो कार्यक्रममा अतिथि बनायो । गणतन्त्र दिवसको उपलक्ष्यमा ‘गणेशमान सिंहको स्मृति र गणतन्त्रको स्थापना’ का अवसरमा कांग्रेसले शान्तिबाटिकामा गरेको कार्यक्रममा दाहाल सहभागी भएका हुन ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत कांग्रेस नेताहरुले कम्युनिष्ट सरकारबाट अधिनायकवादको खतराको कुरा गरिरहँदा दाहालले आफनो भाषणभरी अधिनायकवादतर्फ नजाने प्रतिबद्धता जाहेर गरिरहे ।

दाहालले भने ‘कम्युनिष्ट मिल्दा अधिनायकवाद आउँछ कि भन्ने चिन्ता नलिनुस, हामी अधिनायकवाद ल्याउन मिलेका होइनौं । विचार मिल्नेहरु मिल्न सम्भव हुन्छ । विचार नमिल्नेसँग सहकार्य गर्छौं, हाम्रो कसैलाई पनि निषेध गर्ने नीति छैन । विश्व परिस्थितिले हामीले चाहेर पनि काँग्रेसलाई निषेध गर्न सक्दैनौं, गर्नु पनि हुँदैन ।’

‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गीरिजा र प्रचण्डलाई विश्वस्तरमा स्थापित गर्ने किन जाँगर चल्दैन ?’ हाम्रोजस्तो शान्ति सम्झौता यूरोप, ल्याटिन अमेरिका वा अमेरिकामा भएको भए त्यसको चर्चा दिनदिनै हुन्थ्यो । तर, हामी गरीब र सानो मूलुक भएकाले भएन ।’ दाहालले मनको कुण्ठा पनि पोखे ।

गणतन्त्रका निम्ति नेपालीले निकै ठूलो संघर्ष गरेको प्रचण्डले स्मरण गरे । उनले भने, ‘भूमिगत अवस्थामा म दाङमा थिए, देउवाजी प्रधानमन्त्री हुुनुहुन्थ्यो, त्यो बेला मेरो उहाँसँग फोनमा कुरा भएको थियो । तात्कालीन एमालेका नेताहरुसँग पनि हामीले पटकपटक छलफल गरेपछि सहमतिको वातावरण बन्यो, गणतन्त्र सानो मेहेनतले आएको होइन ।’

‘गणतन्त्र ल्याउन रोल्पामा वार्ता भयो, मैले पनि धेरै नेताहरुसँग कुरा गरे’ प्रचण्डले भने, ‘गीरिजाबाबूसँग धेरैपटक कुराकानी भयो, चक्र बास्तोला, कृष्ण सिटौला लगायतका नेताहरुले भूमिका खेल्नुभयो । एमालेका पनि नेताहरुले राम्रो भूमिका खेल्नुभयो । हामी मिल्यौं । गणतन्त्र आयो । गिरिजाप्रसाद कोइरालाको टावरिङ पर्सानालिटी नभएको भए गणतन्त्र आउन अझै समय लाग्थ्यो ।’

कार्यक्रममा कांग्रेस सभापति देउवाले निर्वाचनमा पराजित भए पनि काँग्रेस नेतृत्वको सरकारले निर्वाचन गराउनु नै ठुलो उपलव्धी भएको र आफैं संविधान लेख्ने नेपाली जनताको ७० वर्षदेखिको चाहना कांग्रेसले नै पूरा गरेको दाबी गरे । उनले भने ‘पार्टीअनुकुलको नतिजा नआए पनि निर्वाचन सफतापूर्वक सम्पन्न भयो । यो कांग्रेसको ठूलो सफलता हो ।’

दाहाललाई जवाफ दिंदै उनले लोकतन्त्र व्यवहारमा उतारेमात्र नेकपालाई विश्वास गर्न सकिने धारणा राखे । उनले भने, ‘ प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई सहयोग गर्छौँ तर सरकारले लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाउनुपर्छ । व्यवहारमा देखाउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.