![]()
काठमाडौँ । सरकारले सैनिक मञ्च टु्ंडीखेलमा औपचारिक कार्र्यक्रम गरी यो बर्षको गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसको बिदा कटौती गरेपनि सरकारीस्तरमा भने भव्यतापूर्वक यो दिवस मनाइएको छ ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक–एक जोडी परेवा उडाएका थिए । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गरेका थिए ।
आफनो सम्बोधनमा प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धि गर्न अब कुनैपनि बाहनाबाजी नचल्ने बताउँदै बिद्रोहको बाटोमा लागेकाहरुलाई शान्तिको मार्गमा आउन आह्वान गरे ।
समारोहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, कीर्तिपुर नगरपालिकाले आआफ्ना स्थानीय कलासंस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए ।
झाँकीमा पञ्चकन्या सहभागी हुनुका साथै, लाखे, लाठीनाच, अष्टमातृका नाच प्रस्तुत गरियो भने बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति नेपाल, परम्परागत बौद्धधर्म संघ, जिल्ला समन्वय समिति, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय खेलकुद परिषद्ले पनि ब्यानरसहित सहभागिता जनाएका थिए ।
कार्यक्रममा कृषि विभाग तथा कृषि अनुसन्धान परिषद्ले नेपालमा उत्पादन हुने कृषि सामग्रीहरु समेटिएको आकर्षक झाँकी प्रस्तुत गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले राष्ट्रभक्ति जगाउने राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै नेपालको लोकप्रिय नृत्य मारुनी र कौरा प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरीय ट्राफिक प्रहरी, महिला प्रहरी, सेना र प्रहरीले ब्याण्ड र कवाज प्रस्तुत गरेका थिए ।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, उद्योगी व्यवसायी, निजामती, जंगीका उच्च अधिकृतका साथै समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो ।


