![]()
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सम्भव सपना मात्रै उल्लेख भएको भन्दै कार्यान्वयन गरेरै छोडने प्रतिबद्धता जनाएका छन ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको प्रतिनिधिसभा बैठकमा जवाफ दिंदै प्रधानमन्त्री ओलीले नेपाली जनताका महत्वकांक्षालाई समेटेर नीति कार्यक्रम तयारी पारिएको दाबी गरे ।
उनले भने, ‘कतिपय माननिय सदस्यले भन्नुभयो, यो नीति तथा कार्यक्रम महत्वकांक्षी भयो भनेर, उहाँहरुले सही नै भने जस्तो लाग्यो । हो यो महत्वकांक्षी छ । विकासको चाहना छ । यो व्यक्ति, क्षेत्र वा सीमित समुदानको नभइ समग्र नेपाल र नेपालीको आकांक्षाको समष्टिगत रुप हो ।’
नेपालीलाई गरीब रहन नदिने र दुःखी हुन नदिनका लागि ल्याइएको नीति तथा कार्यक्रम रहेको ओलीले बताए । उनले भने, ‘खान लाउन, छोरा छोरीलाई पढाउन वा उपचार गर्न नपाउने नेपालीको संख्या शून्य बनाउने सपना छ । तर रामायणमा भनिए जस्तो घर र गल्ली पनि सुनकै बनाउने भनिएको होइन ।’
प्रधानमन्त्री ओलीले पानी जहाजको कुरालाई धेरैले दिवास्वप्न भनेको कुरालाई लक्षित गर्दै आफूले सपना देखेको तर यो आफूले निदाएर देखेको सपना नरहेको भन्दै व्यङग्य गरे ।
उनले भने, ‘हो मैले दिवा सपना नै देखेको हो तर सम्भव भएर मात्रै । निदार देखेको सपना होइन जो उठ्दा बिर्सियोस् ।’ आफूले देखेका सपना सबै दिवा नै रहेको र ती सपनाहरु निदाएको बेला देख्ने र बुउँझिएपछि भन्ने नरहेको उनले बताए ।
सुन तस्करीको बृहत अनुसन्धान र छानबिन
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा रुटबाट आएको तस्करीको सुनबारे छानबिन भइरहेको बताउँदै अरु रुटका तस्करीको पनि छानबिन भइरहेको बताएका छन् ।
प्रधानमन्त्रीले सुनसँगै तस्करीबाट आएका अन्य सामानको छानबिन पनि भइरहेको बताए । प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा भएको ठगीमा पनि छानबिन भइरहेको बताए । ‘घरजग्गा बेचेर गएका नेपाली युवाहरुलाई ठग्नेहरुलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भने ।
प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र उन्मुलनको काम गर्ने पनि बताए । कर नतिर्ने र अनुचित काम गर्नेलाई छुट नदिने प्रधानमन्त्रीको भनाइ छ ।


