![]()
बीबीसी । उत्तर कोरियाका एक उच्च अधिकारीले अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सलाई मूर्ख भनेका छन्। माइक पेन्सले उत्तर कोरियालाई केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग खेल्ने कोशिश नगर्न चेतावनी दिएका थिए ।
त्यसको जवाफमा उत्तर कोरियाका उच्च अधिकारीले पेन्स मूर्खको रुपमा प्रस्तुत भएको र कूटनीतिक वार्ता असफल भएमा न्युक्लियर सटडाउन गर्ने चेतावनी दिएको बताएका हुन् ।
उत्तर कोरियाली उच्च अधिकारी चोइ सन–हुइले आफूहरुले अमेरिकासँग वार्ताका लागि भिख नमागेको बताएका छन् । त्यसले गर्दा आफूहरुलाई वार्तामा बस्नका लाग बाध्य पार्ने व्यर्थको प्रयास नगर्न चेतावनी दिएका छन् ।
पछिल्ला केही दिनदेखि अमेरिका र उत्तर कोरिया दुवैले आउँदो जुन १२ मा सिंगापुरमा हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबिचको वार्तामा ढिलाइ हुने वा रद्द हुन सक्ने बताउने गरेका छन् ।
अमेरिकाले उत्तर कोरियामाथि परमाणु निशस्त्रिकरणका लागि दबाब दिँदै आएको छ । तर उत्तर कोरियाले भने अमेरिकाले लगातार दबाब दिन नछोडेमा वार्तामै नबस्ने चेतावनी दिन थालेको छ । ट्रम्पले गएको मंगलबार उत्तर कोरियाले वार्ताका लागि शर्त पूरा गर्नु बताएका थिए । तर त्यो शर्त के भन्ने चाहिँ खुलाएका छैनन् ।
अहिले माइक पेन्सलाई मूर्खको शंज्ञा दिएकी चोइ गएको दशकमा अमेरिकासँगका धेरै वार्तामा सहभागी भएकी थिइन् । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले प्रकाशित गरेको उनको लेखमा पेन्सलाई राजनीतिक डमी भनिएको छ ।


