Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ला लिगाःसिजनको अन्तिम खेलमा बार्सिलोना विजयी,कप्तान इनिएष्टाको सुखद विदाई…

Loading

एजेन्सी,जेठ ।
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले सिजनको अन्तिम खेलमा जित निकालेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा बार्सिलोनाले रियल सोसीडाडलाई १ – ० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा च्याम्पियन बार्सिलोनालाई जित दिलाउन फिलिपे कौटिन्होले निर्णायक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् । घरेलु मैदानको जितसँगै बार्सिलोनाले च्याम्पियन ट्रफी पनि प्राप्त गरेको छ ।
जितसँगै बार्सिलोनाले यो सिजन ३८ खेलबाट ९३ अंक जोडी सिजनको अन्त्य गरेको छ । यो सिजन बार्सिलोनाले २८ खेलमा जित निकाल्दा ९ खेलमा बराबरी र एक मात्र हार बेहोरेको छ । ४९ अंक जोडेको रियल सोसीडाड १२ औं स्थानमा रहन सफल भएको छ । घरेलु मैदानमा ला लिगा च्याम्पियन ट्रफी उचाल्दै बार्सिलोनाले कप्तान आन्द्रेस इनिएष्टाको पनि सुखद विदाई गरेको छ । मिडफिल्डर इनिएष्टाले सिजनको अन्त्यसँगै क्लब छाड्ने बताईसकेका थिए । रियल सोसीडाडविरुद्धको खेल इनिएष्टाको बार्सिलोनाका लागि अन्तिम खेल हो । खेलपछि निकै भावुक देखिएका इनिएष्टाले बार्सिलोनामा खेल्न पाउनु आफ्नो लागि सबैभन्दा सुखद क्षण रहेको बताउदै बार्सिलोना आफ्नो मनमा सधै रहने बताए ।
बार्सिलोनाको युथ र सिनियर टोलीगरी २२ बर्ष बिताएका इनिएष्टाले बार्सिलोनाबाट २२ मुख्य उपाधि जितेका छन् । ३४ बर्षीय स्पेनिस इनिएष्टाले बार्सिलोनाको सिनियर टोलीमा भने १६ बर्ष बिताए । बार्सिलोनाबाट इनिएष्टाले ९ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग, ६ पटक कोपा डेल रे र ३ पटक क्लब विश्वकपको उपाधि जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.