![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ विश्वकै असाधारण घटना भएको बताउनु भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्न पार्टी एक गरिएको बताउनुभयो ।
दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालीरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने उल्लेख गर्दै उहाँले ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने दृढता व्यक्त गर्नुभयो ।
विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भन्दै उहाँले नयाँ सरकार बनेको अनुभूति दिइने आश्वासन दिनुभयो ।


