Breaking News.... EverestOnlineKhabar
August 31, 2026

Loading

जनकपुर। त्रेता युगमा भगवान् राम र सीतासित सम्बद्ध तीर्थस्थलहरूलाई जोड्ने भारतीय योजना अन्तर्गतको रामायण सर्किटमा जनकपुरधाम समावेश भएको छ। दुई दिने नेपाल भ्रमणमा शुक्रवार बिहान जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिर परिसरमा तीर्थयात्रा मार्गबारे घोषणा गरेका हुन्।

मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त रूपमा जनकपुरदेखि अयोध्यासम्मको सीधा बस सेवा सञ्चालनमा आएको घोषणा गरेका थिए। त्रेता युगका भगवान् राम र सीताको चरण परेका भनिएका स्थलहरू भारतको १० राज्यमा छन्। अब त्यस्ता १५ स्थानहरूलाई जोड्ने रामायण सर्किटमा जनकपुरधाम र धनुषाधाम आवद्ध हुनेछन्।

पर्यटन

रामायण सर्किटले नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। रामायण सर्किटले जनकपुर क्षेत्रमा राम र सीता सम्बद्ध स्थलहरूको पर्यटकीय विकास हुने अधिकारीहरू बताउँछन्।

राम र सीताको पहिलो मिलन भएको गिरिजास्थान, विवाह भएको विवाहमण्डप, स्वयंर भएको बाह्रबिघा (रंगभूमि) मैदान, धनुष भाँच्चिएर खसेको धनुषाधाम लगायत रामायणसित जोडिएका स्थलहरूलाई पर्यटकीय विकास गरिने बताइएको छ।

‘जनकपुरधाममा हाल तीर्थयात्रीहरू जानकी दर्शनपूजा गर्न आउँछन्,’ प्राध्यापक डा.सुरेन्द्र लाभले भने, “रामायण सर्किटमा जोडिएपछि यहाँ थप पर्यटकहरू आउने छन्।”

“तीर्थयात्रीहरू थोरै पैसा खर्च गरेर भुजा, दही चिउरा खाएर फर्किन्छन् तर पर्यटकहरू राम्रा होटेलमा बस्ने र राम्रै रकम खर्च गर्छन्।”

रामायण सर्किटले जनकपुर क्षेत्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने उनको कथन छ। रामायणकालीन स्थलहरूलाई जोड्ने क्रममा जनकपुरधामको भारतका १० राज्य र श्रीलंकाको पनि केही स्थानसित प्रत्यक्ष सम्पर्क हुनेछ।

रामायण सर्किटमा जोडिने स्थलहरूको पर्यटकीय विकासका लागि समेत कार्य हुनेछ। रामजानकीको विवाह स्थल, धनुषयज्ञ स्थल, तलाउ, सरोबरहरूको संरक्षणमा पनि त्यसले मद्दत पुर्‍याउने ठानिएको छ।

नेपाल र भारतबीचको सम्बन्धलाई रामायण सर्किटले थप सशक्त बनाउने उल्लेख गर्दै लाभले त्यसले संसारभरकै हिन्दुहरूमाझ जनकपुरको महत्त्व बढाउने उल्लेख गरे। रामायण सर्किटमा जोडिएसँगै जनकपुरमा हवाई, सडक र रेल मार्गबाट पर्यटकको अवागमनमा वृद्धि हुने अधिकारीहरूले अपेक्षा गरेका छन्।

रामायण

हिन्दूहरूको पवित्र ग्रन्थ रामायणमा वर्णन गरिए अनुसार राजा जनककी छोरी सीताको मिथिला राज्यमा जन्म र विवाह भएको हो।

जनकपुर

भारतको अयोध्याका राजा रामचन्द्रसँग सीताको विवाह भएको रामायणमा वर्णन गरिएको छ। रामायण सर्किटले समग्र जनकपुर क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिने प्राध्यापक डा.भोगेन्द्र झाको विश्वास छ। जानकी मन्दिरमा दर्शन गर्न अब दिनहुँ ठूलो संख्यामा मानिसहरू आउने उनले बताए।

पूर्वाधार

“रामायण सर्किटको फाइदा तत्कालै देखिनेछ,” प्राध्यापक परमेश्वर कापडीले भने, “भारतको महत्त्वाकांक्षी योजना भए पनि जनकपुरधामको बिना पूर्ण हुने थिएन, रामायणको महत्त्वपूर्ण पात्र सीता र राजा जनक रहेकाले रामायण सर्किटको पूर्णताका लागि जोड्नैपर्थ्यो।’

जनकपुर

रामायणको महत्त्वपूर्ण स्थानहरू मध्ये मिथिला र जनकपुरधाम हो । रामायणमा मिथिला र जनकपुरधामको वर्णन गरिए जस्तै सीतालाई आदर्श नारीको रूपमा चित्रण गरिएको छ। भारतमा रामायण सर्किटसित जोडिने १० राज्यका १५ स्थानमा विभिन्न पूर्वाधार निर्माणका कामहरू भइरहेका छन्।

जनकपुरधाममा नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले रामायण सर्किटमा जनकपुर जोडिएको घोषणा गरेपछि थप कार्य प्रारम्भ हुनेछ। नेपाल र भारतबीचको सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध ‘रोटीबेटी’को मानिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.