![]()
काठमाडौं। प्रधानमन्त्री कप अन्तर प्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी जेठ १३ देखि हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदान गरी २ वटा मैदानमा संचालन हुने प्रतियोगिता जेठ २८ गतेसम्म संलाचन हुनेछ।
प्रतियोगिताको आयोजना राष्ट्रिय खेलकुद परिषद्ले गर्न लागेको हो । १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै म्यान अफ सिरिजले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उदयीमान खेलाडीले १५ हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ हात पार्नेछन्।
प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ। जसमा समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, प्रदेश १, प्रदेश २ र प्रदेश ४ रहेका छन्। समूह ‘बी’मा नेपाल पुलिस क्लब, प्रदेश ३, प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ रहेका छन्। समूहमा लिग हुनेछ। शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्।
देशमा दर्जनौं टी–२० प्रतियोगिता भएपनि प्रधानमन्त्री कप राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता हो। अर्कोतर्फ नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो पटक एकदिवसीय राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको हो।


