Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अमेरिकी निर्णयप्रति बेलायत, फ्रान्स र जर्मनीको आपत्ती, ट्रम्पसंग ओबामा पनि रिसाए

Loading

बीबीसी । आफूहरूको सुरक्षाका लागि इरानसँगको पारमाणविक सम्झौता महत्त्वपूर्ण भएको भन्दै ब्रिटेन, फ्रान्स र जर्मनीले त्यसबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेका छन्। उनीहरूले अरू मुलुकले सम्झौता कार्यान्वयनलाई निरन्तरता दिँदा वाशिङटनले त्यसमा अवरोध पुर्‍याउने कदमहरू चाल्न नहुने बताएका छन्।

युरोपेली संघ र रुसले पनि सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। तर मध्यपूर्वमा वाशिङटनका मुख्य साझेदारका रूपमा रहेका इजरेल र साउदी अरेबियाले अमेरिकी निर्णयको स्वागत गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले ट्रम्पको साहसिक निर्णय भन्दै प्रशंसा गरेका छन्। उनले भनेका छन्, इरानसँगको सम्झौता विपद् निम्त्याउने खालको थियो। साउदी अरेबियाले भनेको छ, इरानसँगको सम्झौताले मध्यपूर्वमा अस्थिरता निम्त्याउने तेहरानको प्रयत्नलाई सघाएको थियो।

ट्रम्पको निर्णयप्रति प्रतिक्रिया जनाउँदै इरानी राष्ट्रपति हसन रूहानीले अमेरिका विना पारमाणविक सम्झौतालाई जोगाउन सकिने वा नसकिने हेर्न आफ्ना विदेशमन्त्रीलाई आदेश दिएका छन्।  उनले भने, “मैले आउने हप्ताहरूमा युरोपेली मुलुकहरू, चीन र रुससँग वार्ता गर्न विदेश मन्त्रालयलाई आदेश दिएको छु। यदि सानो समयको अन्त्यसम्ममा यो निष्कर्ष निकाल्न सक्यौँ कि हामीले सम्झौताबाट पूर्ण रुपमा फाइदा लिन सक्नेरहेछौँ भने सम्झौता कायम रहनेछ।”

कूटनीतिक वार्ताहरूको नतिजामा निर्भर रहँदै आफूले औद्योगिकस्तरमा युरेनियम प्रवर्द्धनका लागि तयार रहन अधिकारीहरूलाई आदेश दिन सक्ने पनि रूहानीले बताए। उनले अमेरिकी राष्ट्रपति ट्रम्प मनोवैज्ञानिक युद्धमा लागिपरेको आरोप पनि लगाए।

यसअघि स्थानीय समय अनुसार मंगलवार अपरान्ह ट्रम्पले इरानको पारमाणविक कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताबाट अमेरिका अलग हुने घोषणा गरेका थिए। भयावह र एकपक्षीय भन्दै उनले आतंकवाद प्रायोजन गर्ने विश्वको अग्रणी देशलाई सो सम्झौताले पारमाणविक बम हासिल गर्नबाट रोक्न नसक्ने बताए। ट्रम्पले इरानविरूद्धका उच्च प्रतिबन्धहरूलाई आफूले फेरि ब्युँताउन लागेको समेत उल्लेख गरे।

ट्रम्पले आफ्ना साझेदार मुलुकहरूसँग मिलेर अमेरिकाले इरानको पारमाणविक र बलिस्टिक क्षेप्यास्त्रको खतराको ‘वास्तविक समाधान’ खोज्नेतर्फ काम गर्ने बताए। सम्झौता गराएका त्यसबेलाका राष्ट्रपति बराक ओबामाले ट्रम्पको निर्णयको निन्दा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.