![]()
काठमाडौ,बैशाख ।
सरकारसँग नयाँबसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुद्देश्यीय प्रालिले आफ्नै काउन्टर राखेपछि नयाँबसपार्कमा टिकट दलालहरुको राज अन्त्य भएको छ। योसँगै यात्रु ठगिने सम्भावना पनि हटेको छ । अब दलालबाट ठगिनुपर्ने अवस्थाको अन्त्य भएको ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवरको दावी छ । उनले भनेः‘अहिलेसम्म नयाँबसपार्क पुग्दा दलालहरु कहाँ जाने भन्दै झोला नै तान्न अइपुग्थे । अब दलालहरुसँग ल्होत्सेको सम्बन्ध हुँदैन । हाम्रा कर्मचारीले तोकिएको भाडादरमा टिकट काट्छन्,अब फिल्म हलमा टिकट काटेकोजस्तै पारदर्शीरुपमा बसका टिकट काट्ने छौं ।’
नयाँ बसपार्कमा टिकट काट्न ड्रेस लगाएका कर्मचारी खटिएका छन् । अब टिकट काट्न पुग्नेले विगतको जस्तो दुर्व्यवहार पनि खेप्नुनपर्ने दावी ल्होत्सेको छ । कुँवरका अनुसार अब यात्रुको टिकट व्यवस्थापन ल्होत्सेले नै गर्नेछ । बस कम्पनीहरुसँग समन्वय गरेर यात्रुलाई आफ्नो आवश्यक्ताअनुसारको सेवा व्यवस्थापन गर्ने योजना ल्होत्सेको छ ।
विगतमा एउटा बसमा यात्रु भर्दा दलालले ३० हजार रुपैयाँ उठायो भने ५ हजार आफ्नै खल्तिमा हाल्थे । त्यसले गर्दा भाडामा मनलाग्दी मौलाएको थियो । समितिहरुबीच पनि आपसी मिलेमतोमा टिकटमै कार्टेलिङ हुन्थ्यो । यात्रुहरुलाई सिट छ भनेर टिकट काटेर मुढामा राखिदिने, थोत्रा बसमा कोचिदिने, बीच बाटोमा पुगेर सिट मिलाइदिन्छु भन्ने आश्वासन मात्रै दिने, भाडा महंगो लिनेलगायतका समस्या थिए ।
अब सबै कम्पनीहरुले बसपार्कभित्रै टिकट काउन्टर पाउने छैनन् । त्यसैले उनीहरुसँग अनलाइनमा जानुपर्ने, बसपार्क बाहिर आफ्नै काउन्टर राख्नुपर्ने वा ल्होत्से मातहत आउनुपर्ने विकल्प छ । अब कम्पनीहरुले अनलाइनबाटै टिकट काट्ने प्रणालीको विकास गर्नुपर्ने पनि भएको छ ।


