![]()
जनकपुर ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिझाउन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत झाडु लिएर सडकमा उत्रिएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउने भएपछि सरसफाइमा को नाममा उनीहरु सडकमा झाडु लिएर उत्रिएका हुन ।
प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु सरसफाइमा सहभागी थिए । उनीहरुले झाडु बोकेर जनकपुरको जानकी मन्दिर परिसरदेखि बाह्रविघा जाने सडक आसपाससम्म बढारेका हुन् ।
प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने ठाउँ बाह्रविघाको सरसफाइ गरी मञ्च बनाउने काम सुरु गरिएको छ भने जनकपुर शहरको पनि सफाइ थालिएको छ ।
जनकपुर महत्वपूर्ण धार्मिक स्थल भए पनि सरसफाइ र विकास निर्माणको लागि पटक पटक जनकपुर उपमहानगरपालिकालाई आग्रह गर्दासमेत काम नभएको गुनासो सर्वसाधारणको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ ।
मोदी वैशाख २८ मा नेपाल भ्रमणमा आउँदै छन । उनी जनकपुरहुँदै काठमाडौं आउने कार्यक्रम छ ।


