![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने प्रवन्ध भएको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा भेट्न आएको प्रतिनिधिमण्डललाई सम्वोधन गर्दै प्रधानमन्त्रीले श्रमिकहरुले अब माग पुरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको बताउनुभयो ।
प्रधानमन्त्रीले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको बताउँदै सामाजिक सुरक्षा कायम गर्न, सामाजिक सुसम्बन्ध वलियो बनाउन र उत्पादनमा बृद्धि गर्नमा सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।
‘कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ, शोषण र अन्याय हुँदैन, त्यसका लागि सरकार कटिवद्ध छ’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार श्रमजिवी वर्गसँग घनिष्ट सम्बन्ध रहेकै कारण न्यायोचित र उत्पादनमूलक बाटोमा अग्रसर भएको बताउनुभयो ।
दुई दिनअघि जिम्मेवारी सम्हाल्नु भएक जिफन्टका अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्याला अभिवृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गर्नुभएको थियो । उहाँले सामाजिक सुरक्षामा बढी भन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रभावकारी सुरुवात हुनुपर्नेमा जोड दिनुभएको थियो ।


