Breaking News.... EverestOnlineKhabar
June 27, 2026

झलनाथका नजरमा राष्ट्रपति र प्रधानमन्त्री भन्दा ‘प्रचण्ड’ ठूलो

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बिद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल भन्दा पनि आफनो लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रिय रहेको प्रमाणित गरेका छन । आफूले निकै मेहनत गरेर लेखेको पुस्तक ‘भिजन्स अफ आवर टाइम’ को उनले राष्ट्रपति, उपराष्ट्रपति एवम प्रधानमन्त्रीबाट नभई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट बिमोचन गराए ।

नेता खनालले चाहेको भए उनको एक बोलीमै राष्ट्रपति वा प्रधानमन्त्री जो भएपनि उनको पुस्तकको बिमोचन गर्न खुशीकासाथ आउँथे । राष्ट्रपति र प्रधानमन्त्री एकसाथ पनि कार्यक्रममा उपस्थित हुनसक्थे । तर, नेता खनालले आफनो पुस्तक बिमोचनबारे उनीहरुलाई निम्ता त परै जाओस सुँइको समेत दिएनन र पूर्व प्रधानमन्त्री एवम माओवादी अध्यक्ष प्रचण्डको हातबाट बिमोचन गराए ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन नेता खनालकासाथै योगेन्द्र शाहीले लेखेको ‘नेपालमा भूमी सुधार’ तथा कार्ल माक्र्स र एंगेल्सले लेखेको ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ बिमोचन भएको थियो । समारोहमा नेता खनालले माओवादी अध्यक्ष प्रचण्डकासाथै श्रम मन्त्री गोकर्ण बिष्टलाई पनि डाकेका थिए । उनले आफनै पार्टीका माधव नेपाल र बामदेव गौतमलाई पनि बोलाएनन ।

कार्यक्रम नेपाल प्रगतीशिल ट्रेड युनियन महासंघले आयोजना गरेको भएपनि नेता खनालको इच्छा र चाहना बमोजिम नै महासंघले कार्यक्रमको तालिका र बनोट तयार पारेको हो ।

राष्ट्रपतिमा आफूले चाहना राख्दाराख्दै पनि एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्या भण्डारीलाई नै उम्मेदवार बनाएपछि खनाल ओली, नेपाल र गौतमसंग रुष्ठ छन । नेपाल र गौतमले अन्तिम समयमा खनाललाई धोका दिएर ओलीको निर्णयमा सहमति जनाएका थिए । आफूलाई गम्भीर धोका दिने आफनै सहपाठीलाई पाठ सिकाउन लगत्तै नेता खनालले आफूले सक्रिय राजनीति गर्ने उद्घोष गरेका थिए ।

अहिले एमाले अध्यक्ष ओलीलाई आफू नेतृत्वको सरकार सफल बनाउनदेखि लिएर माओवादी पार्टीसंगको एकतालाई पनि टुंगोमा पुर्उनुपर्ने चुनौती छ । ओली एक्लैका लागि यो चुनौती फलामको च्युरा चपाउनु सरह हो । एमाले पार्टी, सरकार र माओवादीसंगको एकतालाई सफल बनाउन अन्तर पार्टी समझदारी महत्वपूर्ण छ । राष्ट्रपतिको उम्मेदवार छनोटका दौरान ओलीले अब उपरान्त प्रत्येक बिषयमा तपाईसंग सल्लाह गरेर मात्रै निर्णय लिन्छु भनेर खनाललाई बचन दिएका थिए । सो दिनदेखि खनाल र ओलीबीच छुट्टाछुट्टै सल्लाह वा भेटघाट भएको छैन । ओलीले आफूले दिएको बचन बिर्से वा जरुरत नभएर हो त्यो बेलाको आन्तरिक समझदारी लागु भएको छैन । यो बिषयमा खनाल पनि मौन छन तर उनले आफनो राजनीतिक कदम निकै चलाकीपूर्वक अघि बढाएका छन ।

आफनो पुस्तक बिमोचनमा प्रचण्डलाई प्रमुख अतिथी बनाई यथोचित स्थान र महत्व दिनु उनको राजनीतिक रणनीतिको एउटा कदम हो । त्यसो त खनाललाई प्रधानमन्त्री बनाउन प्रचण्डको नै समर्थन थियो । उनीहरुको निकै पुरानो सम्बन्ध आजपनि उत्तिकै प्रिय र घनिष्ट छ ।
पार्टी एकीकरण अन्तिम मोडमा रहेकाबेला प्रचण्ड–खनाल समीकरण ओलीका निम्ति टाउको दुखाई हुने निश्चित छ । ओलीले प्रचण्ड र माधव नेपाललाई जुधाएर राजनीतिक फाइदा लिन खोजेको सहज खेल सबैले बुझेका छन । केही समयअघि एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड हुँदा फरक नपर्ने अभिव्यक्ति दिंदै आएका नेपाल अचेल यो बिषयमा चुपचाप हुनु ओलीकै खेलको उदाहरण हो । यस्तोबेला प्रचण्ड र खनालको भूमिका निर्णायक मात्र होइन ओली, नेपाल र गौतमको ग्याङ सदका लागि ध्वस्त हुने कारक नबन्ला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.