![]()
बीबीसी। दुई कोरियाबीचको शान्ति सम्झौता मंगलवारदेखि कार्यान्वयनमा आएको छ । दक्षिण कोरियाले सीमामा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार कार्यालय मंगलबारदेखि हटाएसँगै कार्यान्वयनमा आएको हो ।
प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै प्योङयाङलाई गराएको थियो । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाले लामो समयदेखि यस्तो प्रचार कार्यालय राखेर उत्तर कोरियाका बिरुद्धमा प्रचार गर्दै आएको थियो । उक्त क्षेत्रमा ठूलो आवाजका साथ माइक लगाएर उत्तरका विरुद्धमा दक्षिण कोरियातर्फका नागरिकलाई जानकारी दिने गरिएको थियो ।
गत शुक्रबार दुई कोरियाबीच शान्ति सम्झौता भएपछि सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने जनाएका थिए । दुबै कोरियाले कोरियाली प्रायद्धीपमा शान्ति वहाली हुने प्रतिबद्धता जनाएका थिए ।
गत शुक्रबारको उक्त सम्झौताको पालना गर्दै दक्षिण कोरियाले उत्तरको सीमामा राखिएको उक्त प्रचार संयन्त्र हटाएको जनाएको हो । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको र शान्तिग्रामका रुपमा चिनिएको पानमुनजोममा भएको सो शान्ति सम्झौताको पालना गर्ने पहिलो पहलस्वरूप सो संयन्त्र हटाउने निर्णय गरिएको हो ।
यस कार्यालय हटाएपछि उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । यस सम्झौताले विशेषगरी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच थप आशा जगाएको छ । उनीहरुमा पुनर्मिलन हुनसक्ने आशा दुई कोरियाबीचको यो पछिल्लो वार्ता र सम्झौताले थपेको बताइएको छ ।


