![]()
बीबीसी । उत्तरी भारतको एउटा विशेष अदालतले एकजना धर्मगुरू आशारामलाई १६ वर्षीया किशोरीको बलात्कारमा दोषी ठहर गरेको छ । ७७ वर्षीय आशारामलाई अर्की महिलालाई पनि बलात्कार गरेको आरोप लागेको छ र सो मुद्दाको अलग्गै सुनुवाइ भइरहेको छ।
आशारामले धार्मिक प्रवचन दिने गर्छन् र उनले १९ वटा देशमा ४०० वटा आश्रम बनाएका छन्। विश्वभरि आफ्ना चार करोड भक्त रहेको उनको दाबी छ।
अदालतमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशङ्का गर्दै न्यायाधीशले लगभग पाँच वर्षदेखि आशारामलाई बन्दी अवस्थामा राखिएको एउटा जेलमा उक्त फैसला सुनाएका थिए। एउटा सुरक्षा कारबाहीपछि सन् २०१३ मा उनलाई गिरफ्तार गरिएको थियो। उक्त समयमा सो नाटकीय घटनाक्रमका बेला उनका समर्थकले प्रदर्शनहरू गरेका थिए।
ती किशोरीको परिवारको आशारामप्रति ठूलो भक्ति थियो। ती बालिका चाहिँ आशारामले सञ्चालन गर्ने आवासीय विद्यालयमा पढ्ने गर्थिन्। मुद्दाको सुनुवाइ जारी रहँदा एक जना पत्रकारसहित नौ जना प्रत्यक्षदर्शीमाथि हमलाहरू भएका थिए। तीन प्रत्यक्षदर्शी मारिएका थिए भने एक जना अझै बेपत्ता छन्।
ती बालिकाको परिवारले बारम्बार धम्की खेपेको बताउने गरेका छन्। र उनीहरूको घरबाहिर सुरक्षाका लागि बुधवार ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।


