![]()
काठमाडौ,बैशाख ।
प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा नाइके मनोज पुनको संगठित अपराधमा माओवादी र एमाले सम्बद्ध युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको पाइएको छ।रुपन्देहीका दुर्गा तिवारी र बसन्त पौडेल ‘बलु’ हत्याकाण्डको मुख्य योजनाकार तथा अन्य अपराधिक गतिविधिमा संलग्न कुख्यात डन पुनलाई माओवादी र युवा संघका नेता तथा व्यवसायीले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
पुनका अपराधिक गतिविधिमा संलग्न ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिर आएको हो।
प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका केन्द्रीय सदस्य देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, युवा संघका पूर्व जिल्ला नेता बुटवल ७ शिवनगरका उत्तम आचार्य, मदिरा उद्योगी बुटवल ४ का हरिप्रसाद श्रेष्ठ, देवदह ६ का रोशन खड्का र देवदह ५ का तुलसी न्यौपानेलाई सार्वजनिक गरेको हो।
पक्राउ परेकाहरुले पुनलाई फोन तथा अन्य प्रविधि मार्फत जिल्लाका उद्योगी व्यवसायीका विवरण उपलब्ध गराउने, हत्याका लागि व्यक्ति तोकेर उक्साउने र आर्थिक रुपमा समेत सहयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले बताए।
ज्ञवालीका अनुसार मनोज पुनका अपराधिक गतिविधिमा पाँचै जनाको संलग्नता शुरु देखि नै रहेको पाइएको छ। मनोज पुनको समूहले २०७३ को पुसमा तत्कालीन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र २०७४ को पुसमा युवा संघका नेता तथा फर्निचर व्यवसायी वसन्त पौडेल बलुको हत्या गर्नुका साथै जिल्लाका उद्योगी व्यवसायीमाझ चन्दा आतङ्क मच्चाउनुका साथै ज्यान मार्ने धम्की दिने गरेका थिए।रुपन्देहीका हत्या र चन्दा आतंकका घटनामा मनोज पुनको समूहलाई सघाउने अरु केही व्यक्तिहरु पनि छिटै पक्राउ पर्ने एसपी ज्ञवालीले बताए। कुख्यात डन मनोज पुन र सोम आले गत फागुन ९ गते प्रहरी इन्काउण्टरमा देवदहमै मारिएका थिए।


