![]()
काठमाडौ,बैशाख ।
२ बर्ष अघि नेपाली कांग्रेसमा कोइराला परिवारको लामो विरासत तोडेर पार्टी सभापति निर्वाचित हुन पुगेको सभापति शेरवहादुर देउवा पार्टीभित्र कमजोर देखिन थालेका छन् । आफु कमजोर बन्न थालेको महसुस गरेपछि देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्नुपर्ने व्यवस्था छ तर १३ औं महाधिवेशनबाट बलियो मतका आधारमा सभापति चुनिएका देउवाले दुई वर्ष बित्दासमेत मनोनयन गरेका छैनन् ।
मनोनयनलाई लिएर महाधिवेशनताका उनकै गुटमा रहेका नेतासमेत उनीविरुद्ध लागेपछि देउवाले पदाधिकारी मनोनयन गरी पार्टीभित्र आफ्नो पक्कड कायम राख्न खोजेको देखिएको छ । मनोनीतमा पर्न देउवा खेमा बाहिरका नेताहरूको समेत दौडधुप बाक्लिएको छ । यद्यपि, देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महत वा मानबहादुर विश्वकर्मालाई मनोनीत गर्ने सम्भावना रहेको निकटस्त स्रोत बताउँछ ।
निर्वाचनपश्चात् सभापति देउवाविरुद्ध कांग्रेसका अन्य सबै गुट उत्रिएपछि उनी कमजोर देखिन थालेका हुन् । केही महिनायता भइरहेका भ्रातृ संगठनका प्रतिस्पर्धामा देउवा खेमाका उम्मेदवार पराजित गर्दै पौडेल र सिटौला समूहका नेताले बाजी मार्नुले त्यही संकेत गर्छ । १३औँ महाधिवेशनमा पार्टीभित्र प्रस्ट बहुमत ल्याएका देउवाले केही प्रमुख भ्रातृसंगठनमा आफ्नो पक्षकालाई नियुक्त गरेका थिए ।
नेविसंघ र तरुण दलको पदाधिकारीमा देउवाले सिटौलाकै सिफारिसमा संगठनका केही प्रभावशाली पदसमेत दिएका थिए । संघ, प्रदेश र स्थानीय चुनावमा हार व्यहोरेपछि देउवाविरुद्ध सिटौला, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत सबै एक भएका हुन् । पार्टी बैठकमा सबैले एक स्वरमा देउवाको तीव्र आलोचना गर्ने गरेका छन् । नयाँ गठजोडकै कारण गत महिना निर्माण मजदुर संघ, नेपाल शिक्षक संघ, निजामती कर्मचारी संघ र यातायात मजदुर संघको नेतृत्वमा देउवा खेमा पराजित भएका छन् भने पौडेल र सिटौलाको तर्फबाट संयुक्त बनेका उम्मेदवारहरू नेतृत्वमा पुग्न सफल भएका छन् ।
२० र २१ फागुनमा भएको निर्माण मजदुर संघको अधिवेशनले जेबी गुरुङको नेतृत्वमा ४३ सदस्यीय समिति निर्वाचित गरेको थियो । गुरुङको नेतृत्वमा पौडेल र सिटौला खेमाको सेट नै विजयी भएको थियो । त्यसैगरी, २ र ३ चैतमा भएको शिक्षक संघको अधिवेशनमा पनि देउवा पक्ष बढारिएको थियो । पौडेल समूहका राजेन्द्रराज पौडेलको प्यानलले देउवा खेमाको प्यानललाई नै हराएको हो । शिक्षक संघको पदाधिकारीमा देउवा पक्षबाट एक मात्र उम्मेदवारले जित निकालेका थिए । शिक्षक संघको निर्वाचनमा पनि पौडेल समूहका उम्मेदवारलाई सिटौला समूहले सघाएको थियो । त्यसैगरी, ४ देखि ७ चैतसम्म चितवनमा भएको कर्मचारी संघको अधिवेशनले पनि सभापति देउवा खेमालाई साइड लगाउँदै पौडेल र सिटौला पक्षको नेतृत्व जिताएको थियो । देउवा पक्षका राजेन्द्र बुढाथोकीलाई हराउँदै पौडेल नजिकका गोपालप्रसाद पोखरेल नेतृत्वमा आए । १६ र १७ चैतमा भएको यातायात मजदुर संघको अध्यक्षमा धर्म भण्डारी, वरिष्ठ उपाध्यक्ष कुमार केसी र महासचिव नुरनाथ पन्त चयन भए । भण्डारी पनि पौडेल र सिटौला समूहकै उम्मेदवार थिए ।
१३ औ महाधिवेशनबाट सभापति भएलगत्तै देउवाले नेविसंघ सभापतिमा आफूनिकटका नैनसिंह महरलाई सर्वमम्मत रूपमा अध्यक्ष बनाएका थिए । त्यतिबेला देउवाले सिटौला समूहको तर्फबाट कुन्दनराज काफ्लेलाई महासचिव बनाएका थिए । यसैगरी, तरुण दलमा सभापतिले आफूनिकटलाई सभापति बनाएर पछि पौडेल पक्षकालाई महासचिव बनाएका थिए । पछिल्लो महाधिवेशनमा मुख्य रूपमा तीन गुट कांग्रेसभित्र देखिएको थियो ।


