![]()
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि चैत २७ गते दिल्ली पुगेका ठाकुरको मुटुमा ‘ब्लड ब्लोकअप’ देखिए पछि उनलाई थप उपचारका आईसीयूमा भर्ना गरिएको हो ।
रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ । ठाकुरलाई एनजीयोग्राफी गरिएको थियो । एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएको पाइएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको हो ।
चैत ३० भर्ना भएका ठाकुरलाई हाल विशेष निगरानी गरी आइसीयुमा राखिएको छ ।
केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले डाक्टरको नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उनले दुई वर्षदेखि नियमित जाँच गराएका थिएनन् ।
मधेश आन्दोलन, पार्टी एकीकरण तथा चुनावलगायतका विषयमा व्यस्त भएको कारण दिल्ली जान सकेका थिएनन् । डाक्टरसँग पटक पटक समय लिएपनि उनी व्यस्तताका कारण उपचारका लागि गएका थिएनन् ।


